


विराटनगर ९ असोज । दशैं, तिहार र छठ पर्वको समयमा चाडपर्व मनाउँदा र रमाइलो गर्दा लामो समयसम्म घरका सबै सदस्यहरु घर छाडेर नहिँडन् प्रहरीले सर्वसाधाणलाई अनुरोध गरेको छ । घरमा हुन सक्ने चोरी डकैतीलाई मध्यनजर गरेर घरका सदस्यहरु आलोपालो गरेर घर बाहिर जान प्रहरीले अनुरोध गरेको हो ।
कुनै कारणले लामो समयसम्म घरका सबै सदस्यहरु घर बाहिर जानुपरेमा घरको सुरक्षा प्रबन्ध मिलाएर, छिमेकीहरु वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराएर मात्र घर बाहिर जान कोशी प्रदेश प्रहरी कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको हो ।
चाडपपर्व लक्षित नेपाल प्रहरीको सुरक्षा रणनीतिका बारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दीपक पोखरेलले सो जानकारी दिनु भएको हो । उहाँले दशै, तिहार र छठ जस्ता चाडपर्वको समयमा रमाइलो गर्न र चाडपर्व मनाउन लामो समयसम्म घरका सबै सदस्यहरु घर बाहिर रहदा चोरी, डकैतीको जोखिम बढी हुने भएकाले यस तर्फ सर्वसाधारणले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको छ ।
अहिले प्रविधिको प्रयोग मार्फत पनि सुरक्षा प्रवन्ध मिलाउन सकिने कुराको स्मरण गराउँदै थोरै पैसामा पनि घरमा सीसीटिभी जडान गरेर मोवाइलमार्फत जुनसुकै स्थानबाट पनि घरको हेरचार गर्न सकिने भएकाले यस तर्फ पनि ध्यान दिन उहाँको अनुरोध छ ।
उहाँले चाडपर्वको समयमा हुन सक्ने सुरक्षा चुनौतिलाई मध्यनजर गरेर कोशी प्रदेश प्रहरी कार्यालयले ८ हजार ६०० सुरक्षाकर्मीहरुलाई परिचालन गर्ने सुरक्षा योजना बनाएको जानकारी गराउनुभयो । ‘प्रहरीको उक्त जनशक्तिलाई प्रहरी पिकेट, पैदल गस्ति, साइकल गस्ति, मोटर साइकल गस्ति, मोबाइल गस्ति र साधा पोशकमा परिचालन गर्छौ, यो सुरक्षा परिचालनले अपराध, दुर्घटना र विकृति विसङ्गति नियन्त्रणमा सहयो पुग्छ’ वरिष्ठ प्रहरी उपरीक्षक पोखरलले भन्नुभयो ।
विशेष गरी बजारका भिडभाड हुने स्थान, पैसाको कारोबार हुने बैंक तथा वित्तीय सस्था, सुनचाँदीको कारोवार हुने स्थान, राजमार्गहरुलाई सरक्षा सम्बेदनसिल क्षेत्रको रुपमा राखेर साधा पोशकका सुरक्षाकर्मीहरु समेत परिचालन गरिने उहाँले जानकारी गराउनुभयो ।
सुरक्षाको सम्बेदनसिल क्षेत्रमा बढी पैसा बोकेर र गरगहना लगाएर नजान पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरु पनि यस पटक थप सुरक्षाको चुनौति भएको स्मरण गराउँदै यस्ता फरार कैदीबन्दीहरु खोजी प्रहरीले गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले आन्दोलनका क्रमम तोडफोड र आगजनीका कारण विस्थापित भएका नेपाली प्रहरीका कार्यालयहरु पुनः पुनस्थापित भइरहेको जानकारी गराउनुभयो । जेन जी आन्दोलनका कारण कोशी प्रदेशमा कुल १७१ वटा प्रहरी विटहरु विस्थापित भएका थिए, जसमध्ये बुधबार सम्ममा ९२ वटा ७९ वटा विट पुनस्थापना हुन बाँकी रहेका छन् ।
आन्दोलनका क्रमम कोशी प्रदेशको सुनसरीमा सबै भन्दा बढी ७० वटा प्रहरी विट विस्थापित भएका थिए । जसमध्ये अहिलेसम्ममा ५३ वटा बीट पुनस्थापित भइसकेका छन् ।
झापामा ४८ वटा, खोटाङमा १६ वटा र मोरङमा ५ वटा प्रहरीका बिट विस्थापित भएका थिए । त्यसमध्ये झापामा ६ वटा, खोटाङ र मोरङमा सबै विस्थापित प्रहरी बिट पुनस्थापित भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

