
विराटनगर ४ असोज । जीवन विकास लघुवित्त वित्तीय संस्थाले विभिन्न रचनात्मक कार्यक्रम गरी स्वयंसेवक दिवस मनाएको छ । जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते आइतबार ‘जीवन विकास स्वयंसेवक दिवस’ मनाएको हो ।
जीवन विकासका १६० वटा शाखा कार्यालयहरु छन् । सबै शाखा कार्यालयहरुले स्वयंसेवक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । स्वयंसेवक दिवसमा श्रमदान मार्फत ४५ विपन्न परिवारका लागि घर निर्माण भएको छ । २७ वटा शाखाले बजार सरसफाइ, २७ वटा शाखाले मन्दिर सरसफाइ, २७ वटा शाखाले वृक्षरोपण कार्यक्रम गरेका छन् । विद्यालय सरसफाइ तथा वृक्षरोपण कार्यक्रम १८ वटा शाखाले गरेका छन् ।
चार वटा प्रहरी बिट मर्मत, २ वटा नगरपालिकाको कार्यालय सरसफाइ, ३ वटा वडा कार्यालय सरसफाइ गरिएको छ । दुई स्थानमा सामुदायिक भवन, दुई स्थानमा पानीको मुहान सरसफाइ भएको छ । पृथ्वी जोगाउने अभियान अन्तरगत वातावरण संरक्षणका लागि जीवन विकासले वृक्षरोपणलाई प्राथमिकतामा राखेको छ । कार्यक्रमहरुमा थ्री जिरो क्लब र स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरु सहभागी थिए ।
२०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो । २०७३ सालदेखि निरन्तर स्वयंसेवक दिवस मनाउँदै आएको छ । समुदायमा श्रमदानको भावना विकास गर्नका लागि सामाजिक काम गर्दै स्वयंसेवक दिवस मनाउन थालिएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा विदेशबाट भोलेन्टियर रुपमा विभिन्न देशका नागरिकले श्रमदान गर्ने प्रचलन थियो ।
आफ्नो देशका लागि आफैले श्रमदान गरेर मनाउने उद्घोषसहित जीवन विकासले स्वयंसेवन दिवस घोषणा गरेको थियो । कोशी, मधेश र बागमती प्रदेशमा ३ लाख ५५ हजार बढी सदस्यको घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले विभिन्न सामाजिक अभियान पनि सञ्चालन गरिरहेको छ ।