मोरङमा कहाँ–कहाँ भयो आगजनी र तोडफोड ?

विराटनगर २४ भदौ । जेनजी पुस्ताले चर्काएको आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीले आज मोरङका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेका छन् ।

प्रर्दशन सुरक्षाकर्मीको नियन्त्रण बाहिर गएपछि उनीहरुले कोशी प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कार्यालय परिसरमा रहेका सवारी साधन, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, उच्च अदालत र जिल्ला अदालत विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङ, कांग्रेस नेता डा. शेखर कोइराला निवास, मालपोत कार्यालय विराटनगर, रंगेली नगरपालिका, सुनबर्षी नगरपालिका, उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र नगर प्रमुख मोहन तुम्वापोको घर, पथरीशिनश्चरे स्थित कर कार्यालय, सुन्दरहरैचा नगरपालिका र नगर प्रमुख केदार गुरागाई र पूर्व नगरप्रमुख शिव ढकालको घरमा तोडफोड तथा आगजनी गरेका छन् । प्रर्दशनकारीहरुले नेकपा एमालेको विराटनगर पाञ्चाली स्थित जिल्ला तथा प्रदेश पार्टी कार्यालयमा आगजनी गरेको छ ।

कोशी प्रदेशसभा सदस्य तथा माओवादी अध्यक्ष प्रचण्डका ज्वाइँ जीवन आचार्यको विराटनगर स्थित घर, विराटनगर वसपार्क नजिक प्रर्दशनकारीले सरकारी नम्वर प्लेटको मोटरसाईकल आगजनी गरेका छन् । प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको विराटनगर स्थित घर, विराटनगर वडा नं. १, २, ३ का वडा कार्यालय तोडफोड भएको छ ।

भाटभटेनी सुपरमार्केट, विराटनगर पुष्पलाल चौक स्थित पुष्पलाल श्रेष्ठको स्तम्भ तोडफोड, विराटनगर तीनपैनी स्थित सामुदायिक प्रहरीको विट, ट्राफिक चौकको प्रहरी विट, राष्ट्रिय बाणिज्य बैंक विराटनगर कार्यालयमा पनि तोडफोड भएको छ ।