विराटनगरको बाल सुधार गृहलाई शैक्षिक सामग्री प्रदान

विराटनगर २२ भदौ । २२ औँ निजामती सेवा दिवसको अवसरमा आइतबार विराटनगरस्थित बाल सुधार गृहलाई शैक्षिक सामग्री र मसलन्द प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको समन्वयमा कर्मचारी मिलन केन्द्र मोरङले उक्त सामग्रीहरू हस्तान्तरण गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादवले निजामती सेवामा कार्यरत सबैलाई शुभकामना दिँदै यसै वर्ष नयाँ निजामती सेवा ऐन जारी हुने आशा व्यक्त गर्नुभयो ।

संविधान जारी भएको एक दशक पूरा हुन लाग्दा पनि नयाँ निजामती ऐन आउन सकेको छैन । आजकै दिन पारेर राजपत्रमा प्रकाशित गर्ने प्रयास भएको थियो, तर केही प्राविधिक कारणले हुन सकेन । अब भदौ २५ गतेको सदनको कार्यसूचीमा चढेको छ, सिडिओ यादवले भने, ‘आशा छ, ऐन २०८२ मै जारी भई हाम्रो हातमा आउँछ र आगामी दिनको खाका कोरिनेछ ।’ उहाँले डिजिटल युगमा प्रविधिसँग तालमेल मिलाउँदै अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभयो । साथै, विराटनगरस्थित बाल सुधार गृहको कमजोर भौतिक संरचना र क्षमताभन्दा बढी बालक राख्नु परेको समस्याबारे पनि जानकारी दिँदै, उहाँले भन्नुभयोे, ‘बाल सुधार गृहसम्बन्धी नयाँ कानुन चाँडै आउँदै छ । नयाँ कानुन आएपछि बालकलाई मात्रै सुधार गृहमा राख्ने र १८ वर्षमाथिलाई अलग कारागारमा सार्ने तयारी भइरहेको छ ।’

५० जनाको क्षमता भएको सुधार गृहमा अहिले २५३ जना रहेका छन् । विभिन्न उमेर समूहका कारण व्यवस्थापन चुनौतीपूर्ण छ । नयाँ कानुन पास भएपछि यहाँ बालबालिका मात्र रहने व्यवस्था हुनेछ, जसले शिक्षा र सिकाइ अझ प्रभावकारी हुने, यादवले बताउनुभयो ।

कर्मचारी मिलन केन्द्र मोरङका अध्यक्ष प्रदीप साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आधिकारिक ट्रेड युनियन मोरङका अध्यक्ष फणीन्द्र अधिकारी, दीपज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक सनक कोइरालालगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

नेपालमा पहिलो पटक २०१२ साल भदौ २२ गते निजामती सेवासम्बन्धी ऐन जारी भएको दिनलाई स्मरण गर्दै २०६१ सालदेखि हरेक वर्ष निजामती सेवा दिवस मनाउन थालिएको हो ।