राष्ट्रसेवक बचत तथा ऋण सहकारीले एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने

विराटनगर २१ भदौ । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरले २७ औं स्थापना दिवसको अवसरमा एक पत्रकार सहित तीन जनालाई पुरस्कृत गर्ने भएको छ ।

आगामी असोज ४ गते बार्षिक साधारणसभाका अवसरमा किशोरी खतिवडा स्मृति पुरस्कार, दधिराम दाहाल स्मृति पुरस्कार र हिरनकुमार थापा स्मृति पुरस्कार प्रदान गरिने सहकारीले आज घोषणा गरेको हो ।

बार्षिक साधारणसभामा पेश गरिने नीति, कार्यक्रम, बजेट तथा कार्यविधि निर्माण सम्वन्धी विस्तारित मञ्च तथा सम्मान पुरस्कार घोषणा कार्यक्रममा आज तीन वटा पुरस्कार वितरण गरिने जानकारी दिईएको सहकारीका सचिव ओम सुवेदीले जानकारी दिनुभयो ।

किशोरी खतिवडा स्मृति पुरस्कार पूर्व कर्मचारी इन्दिरा रिजाल (काठमाण्डौं ) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी १५ हजार रहेको छ । दधिराम दाहाल स्मृति पुरस्कार समाजसेवी भवनाथ पौडेल (विराटनगर) लाई प्रदान गरिने छ । पुरस्कारको राशी ११ हजार रहेको छ । हिरनकुमार थापा स्मृति पुरस्कार पत्रकार सुमन सुस्केरालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशी ११ हजार रहेको छ ।

२०५५ साल साउन ४ गते स्थापित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अहिले १ हजार ८९३ जना शेयर सदस्य छन् । संस्थाको कूल सम्पती दायित्व ५७ करोड ३८ लाख ५७ हजार ४५४ रहेको छ । चालु आर्थिक वर्षमा यसलाई बृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ पुर्याइने भएको छ ।

संस्थाले गत आर्थिक वर्ष २०८१–०८२ मा कुल आम्दानी ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ गरेको छ । बार्षिक लक्ष्यको ९४ प्रतिशत आम्दानी भएको कार्यक्रममा अध्यक्ष जीवन काफ्लेले सो जानकारी दिनुभयो । उहाँका अनुशार गत आर्थिक वर्षमा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कार प्राप्त गरिएको छ ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारीले कार्यालय भवन सम्पन्न गर्ने सँगै शेयर सदस्यता बृद्धि, जगेडा कोष बृद्धि, शिक्षा, उद्योग व्यापार, व्यवसाय र स्वास्थ्य उपचारमा सहुलियत ऋणको व्यवस्था गर्ने लगायतका कामहरु आगामी दिनमा गरिने अध्यक्ष काफ्ले बताउनुभयो ।