झोराहाट साहित्यिक शृंखलामा चार कवि प्रस्तुत

विराटनगर, १४ साउन । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखला आज सम्पन्न भएको छ ।

साउन महिनाको शृंखलामा चार जना कवि तथा गजलकार प्रस्तुत भएका छन् । समूहको सभाहलमा आज आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत हुनु भयो । उहाँहरुले कविता र गजल प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीले चारैजना कविलाई खादा ओढाएर मायाको चिनोसमेत प्रदान गर्नु भएको थियो । झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरुलाई मञ्च उपलब्ध गराउँदै आएको अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिनुभयो ।

समूहले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक शृंखलासहित बेला–बेला नाटक मञ्चन र नाट्य लेखन र अभिनयको प्रशिक्षणसमेत सञ्चालन गर्दै आएको समूहका सचिव छत्र काफ्लेले बताउनुभयो । आज आयोजित कार्यक्रममा सिर्जना सुन्नका लागि पूर्वका विभिन्न जिल्लाबाट साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।