संसदीय निर्वाचनका अहिलेदेखि तयारी शुरु गर्नुपर्छ: राप्रपा अध्यक्ष लिङ्देन

विराटनगर,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विगतको कमी कमजोरी हटाई आगामी निर्वाचनमा अध्याधिक स्थानमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष लिङदेनले पार्टीको जनमत वृद्धि गर्न ७५३ स्थानीय पालिकामा संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिदै निर्वाचनमा पार्टीलाइ परिवर्तनको संवाहकको रुपमा जनतालाई विश्वास दिलाउन आग्रह समेत गर्नु भयो । उहाँले निर्वाचनलाई जीवनमरणको रुपमा लिन कार्यकर्ताहरुलाई आग्रह गर्दै जनताको समृद्धिको चाहना पुरा गर्न पार्टीलाई सत्तागठबन्धनका दलहरुको विकल्पको रुपमा स्थापित गर्र्नु पर्नेमा जोड दिनु भयो ।

अध्यक्ष लिङ्देनले भदौ अन्तिममा निर्वाचनका लागि उम्मेदवारको सूचि जारी गर्ने जानकारी दिँदै सोही महिनादेखि मुलुकभरी अभियानको रुपमा पार्टी प्रवेश तथा आमसभाको आयोजना गर्ने बताउनु भयो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधान, केन्द्रीय सदस्य डा राजेश गिरी र सह प्रवक्ता दिनेश शाहले धार्मिक स्वतन्त्रत सहितको हिन्दू राष्ट्र स्थापित गर्ने पार्टीको एजेण्डालाई स्थापित गराउन निर्वाचनमा उम्मेदवारहरुलाई अध्याधिक स्थानमा विजयी गराउन आग्रह गर्नुभयो । सो अवसरमा उपाध्यक्ष प्रधानले स्थानीय तह निर्वाचनको नतिजा र सङ्घीय र प्रदेश सभा निर्वाचन रणनीति, केन्द्रीय सदस्य डा गिरीले राप्रपाको मूल सिद्धान्त, वैचारिक दर्शन, सांगठनिक स्वरुप एवं भावि कार्ययोजना, जयवहादुर श्रेष्ठले साम्यवाद, समाजवादी, पूँजीवाद र उदारवाद, हुपेन्द्र भण्डारीले हिन्दु धर्म र राजसंस्था र भक्ति सिटौलाले व्यवहारिक राजनीति विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यसैगरी १४ गते शनिवार नेत्रप्रसाद चम्लागाँईले नेतत्व विकास, खुस्बु ओलीले निर्वाचन, मतदान केन्द्र र मतगणनाको महत्व र याम ढकालले पार्टी दिशानिर्देशन र पार्टी एजेण्डा विषयक कार्यपत्र प्रस्तुत गर्नु हुने सोही अवसरमा जानकारी दिइयो । प्रशिक्षक प्रशिक्षणमा प्रदेशका १४ जिल्लाका अध्यक्ष,संसदीय क्षेत्र, प्रदेश सभा सदस्य क्षेत्र, महिला गरी २०० जनाको सहभागिता रहेको छ ।