आमसञ्चार विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघको धर्ना

विराटनगर १२ भदौ । कोशी प्रदेशमा ल्याउन लागिएको आमसञ्चारलाई व्यवस्थित गर्न बनेको विधेयकमा स्वतन्त्र प्रेस विरोधी प्रावधानहरु समेटिएको भन्दै नेपाल पत्रकार महासंघ मोरङ र कोशीले आज मुख्यमन्त्री कार्यलय अगाडि प्रदर्शन र धर्ना दिएको छ ।

मुख्यमन्त्री कार्यालय अघिबाट नाराबाजी गर्दै नजिकै रहेको रोडशेष चोकमा भेला भएका पत्रकारहरुले प्रेस विरोधी प्रावधानहरु खारेज गर्दै विधेयक संशोधन गर्न माग राखेका छन् ।

नाराबाजी र प्रदर्शन पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले समाचार लेखेकै भरमा पत्रकार दण्डित हुने विधेयक स्वीकार्य हुनै नसक्ने भन्दै त्यसका लागि पनि संशोधन आवश्यक रहेको बताउनुभयो । उहाँले महासंघको पूर्व निर्धारित आन्दोलनका कार्यक्रम स्वरुप प्रदेश राजधानी विराटनगरमा मुख्यमन्त्री कार्यालय अघि र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि धर्नाको कार्यक्रम भएको बताउनुभयो ।

कोशी प्रदेश सभा तथा कोशी प्रदेश सरकारलाई विधेयक संशोधनका लागि दवाव दिन महासंघ प्रेस संग सम्बन्धित संघ संगठनहरुको परामर्शपछि आन्दोलित हुँदै आएको छ । यसअघि महासंघले मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरुलाई भेटेर ज्ञापन पत्र बुझाउने काम सम्पन्न गरिसकेको छ भने हिजो मात्रै सबै जिल्लाका पत्रकारहरुले आफ्नो जिल्लाबाट कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुलाई म्यासेज पठाएर दवाव दिएका थिए ।