
विराटनगर ७ भदौ । युवाकवि मोतीराम भट्टको १६० औं जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रम गरेर मनाइँदै छ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं. १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा स्वर्गेवास भएका मोतीराम भट्टले नेपाली साहित्यमा ठूलो योगदान दिएको कदरस्वरूप उनको जन्मजयन्ती मनाउने गरिन्छ ।
नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । उनले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गरेका थिए ।
भट्ट राष्ट्रिय विभूतिसमेत हुन । नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्धमा पनि कलम त्यत्तिकै बलियो चलेको थियो ।