स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि बिरामी मर्कामा

विराटनगर, १ साउन । सरकारले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा कार्यक्रममार्फत हुने उपचार सेवा बन्द गरेपछि बिरामी मर्कामा परेका छन् ।

अस्पतालहरु पनि साउन १ गतेअघि भर्ना भएका बिरामीको समेत स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार गराउन सक्ने अवस्था नभएको जनाएका छने । जसका कारण बिमाको भरमा उपचार गराउन भर्ना भएका बिरामीहरु समस्यामा परिरहेका छन् । बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी नगरिकन उपचाररत बिमितको अभिलेखीकरण गरिँदै आएको बिलिङ सफ्टवेयर बन्द गरिदिएको छ । बोर्डले बिमामार्फत बिरामीको उपचार गराएवापतको करोडौं रूपैयाँ निजी अस्पताललाई भुक्तानी गर्न बाँकी छ । भुक्तानी नै नदिइकन बोर्डले गत मङ्गलबारबाट बिलिङ सफ्टवेयर बन्द गरिदिएपछि बिरामी स्वयंले उपचारवापतको सबै खर्च बेहोर्नुपर्ने अवस्था आएको छ ।

मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालले २०७४ चैत्र २० गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको उपचार सेवा सुरु गरेको थियो । बिमाबाट दैनिक एक हजारभन्दा बढी बिरामीले सेवा लिइरहेका थिए । कतिपय बिरामी बेड भर्ना भएर उपचार गराइरहेका छन् । विराटसहित प्रदेश १ का नोबेल, बि एन्ड सीलगायतका ठूला निजी अस्पतालको अवस्था पनि उस्तै छ । निजी अस्पतालले बिमावापतको सेवा बन्द गरिदिएपछि उपचारका लागि भर्ना भएकालेसबै रकम आफैँ तिर्नुपर्ने अवस्था आएको छ । बोर्डले विराट र बि एन्ड सीलाई ४४–४४ करोड र नोबेललाई ५५ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । आर्थिक वर्ष २०७९÷०८० को बजेट वक्तव्यमार्फत सरकारले साउन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट मात्र उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारले उक्त कार्यक्रम निजी अस्पतालबाट चलाउने कि नचलाउने भन्ने स्पष्ट पारेको छैन । विराटका प्रशासन प्रमुख प्रमेशराज टेवकोटाले सरकारले भुक्तानी नदिएपछि बिमावापतको सेवा सञ्चालन गर्न नसकिएको बताउनु भयो । बक्यौता भुक्तानीका लागि पटकपटक आग्रह गर्दा पनि बोर्डले नसुनेको उहाँको भनाइ छ । ‘आर्थिक अवस्था कमजोर भएका बिरामीले बिमामार्फत सहज सेवा लिइरहेका थिए । तर बोर्डले भुक्तानी नदिइकन बिलिङ सफ्टवेयर बन्द गरिदियो,’ उहाँले भन्नु भयो, ‘अगाडिकै भुक्तानी नपाइरहेको अवस्थामा सेवालाई निरन्तरता दिन सकिएन ।

सरकारले पनि बिमा कार्यक्रम निजी अस्पतालबाट नचलाउने भनिसकेको छ ।’ बिमा बोर्डबाट बक्यौता रकम भुक्तानी नहुँदा अस्पतालमाथि ठूलोे आर्थिक भार थपिएको सञ्चालकहरुले बताएका छन् । बक्यौता भुक्तानीको अभावमा औषधि खरिद, स्वास्थ्यकर्मीको तलब र अन्य आन्तरिक खर्च व्यवस्थापनमा समस्या आइपरेको अस्पतालहरुले जनाएका छन् ।