राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतिमा फर्कन हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर ३० साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।

आज धनकुटामा अखिल नेपाल महिला सङ्घले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उहाँले हामीले उहाँलाई गालीगलोज गर्ने होइन सम्मानपूर्वक व्यवहार गर्ने र राष्ट्रको सामाजिक काममा लाग्नको लागि अभिप्रेरित गर्नुपर्ने बताउनुभयो। उहाँले नेकपा एमाले निर्माणमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको योगदान उल्लेख्य रहेको चर्चा गर्दै उहाँको योगदानलाई हामीले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संविधानको संरक्षक र सबैको अभिभावक भइसकेको व्यक्ति सम्मानित भएर बस्दा नै राष्ट्रलाई फाइदा हुन्छ भन्ने उद्देश्यले एमालेले उहाँलाई सम्मानपूर्वक र सम्मानित हुनको लागि आग्रह गरेको हो ।’

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले उद्दमशीलता विकासका लागि विभिन्न काम गरेको जानकारी पनि दिनुभयो ।

सो अवसरमा उहाँले बिना धितो ऋण दिलाउने व्यवस्था गरेर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब तपाईहरुले नयाँ र राम्रो खालको उद्यम गर्न चाहनुहुन्छ भने तपाईँहरूको परियोजना हेरेर बैंकले ऋण दिन्छ त्यो ऋणको ब्याज प्रदेश सरकारले तिरिदिन्छ ऋण लिँदा धितो राख्नु पर्दैन ।’