
विराटनगर, २८ साउन । एक्कासि झडप भएर अवस्था तनावपूर्ण बनेको विराटनगरको बाल सुधारगृह सुरक्षा नियन्त्रणमा आएको छ । सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर सुधारगृहको अवस्था सामान्य बनाएका हुन् ।
विराटनगर महानगरपालिका–३ मा रहेको सुधारगृहमा बुधबार दिउँसो १२ः४५ बजेतिर झडप भएको थियो । सुधारगृहमा रहेका बाल बिज्याइँकर्ताबीच दोहोरो झडप हुँदा अवस्था तनावग्रस्त बन्न पुग्यो । उनीहरुबीच के कारणले झडप भएको हो भनेर यकिन छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । कानुनको विवादमा परेका बाल बिज्याइँकर्ता बालकहरुबीच भएको झडप छुट्याउने क्रममा नेपाल प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) र वरिष्ठ हवल्दार घाइते भएका छन् ।
सम्झाइबुझाइ गर्ने क्रममा झडपमा उत्रिएका बाल बिज्याइँकर्ताहरुले प्रहरीलाई नै आक्रमण गरेका थिए । आक्रमणबाट सुधारगृहको सुरक्षार्थ खटिएका असई शम्भु चौधरी र वरिष्ठ हवल्दार हिरणकुमार मण्डल घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताउनुभयो । असई चौधरीलाई सामान्य चोट लागेको छ । टाउकोमा चोट लागेका वरिष्ठ हवल्दार मण्डलको कोशी अस्पतालमा उपचार भइरहेको छ । तर, अवस्था सामान्य छ ।
सुधारगृहमा परिचालित प्रहरीले सुधारगृहलाई आफ्नो नियन्त्रणमा लिएर अवस्था सामान्य बनाएको एसपी चिमरियाले बताउनुभयो । उहाँका अनुसार झडप सुरु हुनसाथ १२०–१३० जनाजति बाल बिज्याइँकर्ताहरु मुख्य गेट तोडेर बाहिर निस्किएका थिए ।
बाहिर निस्किएर भाग्न खोजेकाहरुलाई सुधारगृहमा खटिएको प्रहरी टोलीले घेरा हालेर सुधारगृहभित्रै पुर्याएको थियो । बेलैमा अपनाएको सुरक्षा सावधानीका कारण बाल बिज्याइँकर्ताहरु भाग्न भने नपाएको र सुधारगृहको अवस्था सामान्य भइसकेको मोरङ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सुधारगृहको क्षमता ५० जनाको हो । हाल २ सय ४९ जना बाल बिज्याइँकर्तालाई राखिएको छ । गणना गर्दा सबै जना सुधारगृहभित्रै रहेको र कसैले पनि भाग्ने मौका नपाएको प्रजिअ यादवले बताउनुभयो ।