माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

विराटनगर, ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो ।

यस पटकको एसईईमा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालय परीक्षामा सहभागी थिए । जसमध्ये २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा फर्म भरेकोमा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए । सार्वजनिक भएको परिणामअनुसार ३.६ देखि ४ जीपीए ल्याउने परीक्षार्थी ९ हजार ६ सय ३३ जना छन । त्यसैगरी ३.२ देखि ३.६ जीपीए ल्याउने ४१ हजार ६२७ र २.८ देखि ३.२ जीपीए ल्याउने ६९ हजार ९०० जना छन । २.४ देखि २.८ जीपीए ल्याउने ९० हजार ७५८, २ देखि २.४ जीपीए ल्याउने १ लाख १२ हजार ७३३ र १.६ देखि २ जीपीए ल्याउने १ लाख ५९४ जना छन ।

१.२ देखि १.६ जीपीए ल्याउने परीक्षार्थी ४४ हजार ५८६ जना रहेको परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी ०.८ देखि १.२ जीपीए ल्याउने ३ हजार २८० जना छन ।