
विराटनगर २६ साउन । अन्तर्राष्ट्रिय स्तरको अंग्रेजी बोल्ने प्रतियोगिताका लागि विराटनगर– ५ स्थित एभरेष्ट स्कुलका विद्यार्थी इशल भट्टराई छनौट भएका छन् ।
थाइल्याण्डमा अगस्ट २७–३१ (भदौं ११–१५) सम्म हुने प्रतियोगिताका लागि भट्टराई छनौट भएका हुन । सो प्रतियोगितामा इशल सँगै नेपालका चार जना विद्यार्थी छनौट भएका छन् । प्रथम चरणको छनौटमा एभरेष्टका इशल, काब्या २ काठमाडौंका चारु आचार्य, नेशनल इन्फोटेक कलेज वीरगञ्जका सारा श्रेष्ठ र वीरगञ्जकै गौतम सेकेन्डरी स्कुलकी स्वारा झा रहेका छन् ।
प्रतियोगिता १० देखि १५ वर्ष र १६ देखि २७ वर्षको उमेर समूह गरि दुई समूहमा प्रतिष्पर्धा हुने गरेको जानकारी दिँदै माई सेकेण्ड टिचरले नेपालका लागि भने १६ देखि २७ वर्ष उमेर समूहका विद्यार्थीले भाग लिन पाउने जनाएको छ ।
नेपालका लागि यो कार्यक्रम आरभीआई ग्रुपसँगको सहकार्यमा आरभीआइपीएसको सहयोगमा माई सेकेण्ड टिचरले आयोजना गरेको हो । ‘अहिलेको डिजिटल युगमा विश्व नागरिकका हैसियतले कसरी हामी विभेदहरू हटाउँदै एक आपसमा जोडिएको संसार निर्माण गर्न सक्छौं’ भन्ने शिर्षकमा सहभागीहरुले आफ्ना विचार राख्नुपर्ने छ ।
छनौटका लागि विद्यार्थीहरुले ५ सय शब्द र अधिकतम ४ मिनेटसम्मको भिडियो पठाएका थिए । तीनै भिडियोको आधारमा उत्कृष्ट चार जना थाइल्याण्डका लागि छनौट भएका हुन् । थाईल्याण्डमा छनौट भएकाहरुको फाइनल स्पर्धा भने चीनमा हुने छ ।