
विराटनगर २५ साउन । साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ ।
भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा आइतबार सम्पन्न समूह ‘ए’ को अन्तिम खेलमा नेपाल ११–० ले पराजित भएको हो । योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ।
उत्तर कोरियाले ३ खेलबाट ९ अंक जोड्यो। उत्तर कोरियाले साउदी अरबलाई १५–० र भुटानलाई १०–० ले पराजित गरेको थियो । नेपाल भने उतकृष्ट उपविजेता बन्न पनि चुक्यो । नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। नेपालले भुटानसँग १–१ को बराबरी खेलेको थियो ।
साउदी अरबमाथि भने १–० को कठिन जित हात पारेको थियो। तर, जित्नै पर्ने अन्तिम खेलमा नेपालले उत्तर कोरियासँग फराकिलो हार बेहोरेको हो ।