विराटनगरका उद्यागीले भने– उद्योगीका समस्या समाधानमा सरकार उदासिन

विराटनगर, ११ साउन । उद्योगीका समस्यामा सरकार उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन् । समस्या समाधानका लागि भेट्नुपर्ने सवै व्यक्तिहरुलाई भेटेर कुरा राखेपनि कुनै सुधार नभएको उनीहरुको भनाई छ ।

सरकारले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने गरि बजेट ल्याएको भन्दै मोरङका उद्योगी, व्यवसायीहरु अहिले आन्दोलित छन् ।

मंगलबार विराटनगर आउनु भएका उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्रप्रसाद बढुसमक्ष उद्योगी जगदिश अग्रवालले कोशीमा हामफल्न मात्रै बाकी रहेको बताउनुभयो । उद्योग क्षेत्रमा लागेको ४२ वर्ष सम्म यस्तो समस्या कहिल्यै आफुले भोग्नु नपरेको उहाँको भनाई छ । प्रधानमन्त्री, अर्थमन्त्री सवैलाई भेटर समस्या राखेपनि समाधान हुन नसकेको उहाँले गुनासो गर्नुभयोे । उद्योगी अग्रवालले भन्नुभयोे,‘ सरकार सोधीखोजी नै गर्दैन, वास्तै गर्दैन । समस्या समाधान नगर्ने हो भने मन्त्री ज्यूले भनिदिनु पर्यो, सवैजना गएर कोशीमा हाम फाल ।’ उद्योगीहरु सार्है समस्यामा परेको उहाँले बताउनुभयो । मन्त्री बढुको ध्यानाकर्षण गराउँदै उद्योगी युक्ती गोल्छाले आफुहरुसँग कुनैपनि अप्सन नै अव बाकी नरहेको बताउनुभयो । उहाँले श्रमीकहरुलाई धमाधम विदा दिनुपर्ने अवस्था आएको बताउनुभयो । आफ्नो उद्योगबाट १५० जना श्रमिकलाई विदा दिएको गोल्छाले वताउनुभयो । गोल्छाले भन्नुभयो,‘ विराटनगरका ५ वटा उद्योगले १ हजार श्रमीक हटाएका छौं ।’ कर्मचारी पनि पाल्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाई छ ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्योगीहरु दिनप्रतिदिन समस्यामा पर्दै गएको बताउनुभयो । उहाँले भन्नुभयोे,‘ मोरङका उद्योगीले ७२–७३ वर्षको इतिहासमा पहिलो सडक आन्दोलनमा आउनुपर्यो ।’ सरकारले आफ्ना समस्याहरु नसुनेको उहाँले बताउनुभयो । उद्योगी रिजालले भन्नुभयोे,‘ प्रदर्शनीस्थल हामीले खोज्यौं, जमिन हामीले फेला पार्यौं, सरकार बजेट नै दिदैन ।’ उहाँले बंगलादेशमा नेपाली उत्पादन पुर्याउने वातावरण बनाईदिन आग्रह समेत गर्नुभयोे । उहाँले भन्नुभयोे,‘ वंगलादेशी सामान सहजै नेपालमा आउने गरे पनि यहाँको सामान त्यहाँ बजारीकरणको व्यवस्था गरिदिनुपर्यो ।’ नेपालले भारतबाट धेरै सामान आयात गर्ने गरिएकाले सरकारले सुक्ष्मरुपमा अध्ययन गरि नीतिगत सुधार गर्न आवस्यक रहेको भन्दै उनले मन्त्री बढुको ध्यानाकर्षण गराउनुभएको थियो । मन्त्री बढुले उद्योगीको चित्त दुखाई स्वभाविक भएको बताउनुभयो । उहाँले उद्योगीका समस्या समाधानको शुरुवात भईसकेको दावी गर्नुभयो ।

रुग्ण उद्योगहरुलाई जगाउन तर्फ सरकार अहिले केन्द्रीत भएको उहाँको भनाई छ । उनले भने,‘ पहिलो उद्योग विराटनगर जुट मिल्सको अवस्थाबारे बुझ्न म त्यहीभएर यहाँ आएको हुँ ।’ लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्सलाई जगाउन आवस्यक भएको उहाँले बताउनुभयो ।