
विराटनगर १५ साउन । मोरङको टंकीसिनवारी जेसिजले वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।
आगामी भदौ २७ गते विराटनगरमा भिम–अजिता ओराटोरि च्याम्पियनसिप हुने भएको हो । प्रतियोगितामा देशभर रहेका १८४ जेसिज शाखा तथा जुनियर जेसिज शाखाका प्रतिनिधिहरूको प्रतिस्पर्धा हुनेछ । कार्यक्रमबारे टंकीसिनवारी जेसिजका अध्यक्ष अनिष भट्टराईले आज विराटनगरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
खुला सहभागितामा हुने यस राष्ट्रिय स्तरको प्रतियोगिताले देशभरका उत्कृष्ट वक्ताहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने लक्ष्य राखेको अध्यक्ष भट्टराईले बताउनुभयो । टंकीसिनवारी जेसिजका संस्थापक भीम घिमिरेले जेसिजले कुनै पनि क्षेत्रमा रहेका व्यक्तिलाई असल नागरिक बनाउने उद्देश्य राखेको बताउनुभयो ।
कार्यक्रम टंकीसिनवारी जेसिज र एबी ग्रुपको सहकार्यमा आयोजना हुँदैछ । प्रतियोगितामा प्रथमलाई ३० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार वितरण गरिने जनाईएको छ ।