विराटनगर, १० साउन । एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट कराँतेका दुई जना प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सुनसरीको इटहरी घर भएकी १९ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोप सुवेदी र राउतमाथि छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट प्रशिक्षकका रूपमा नियुक्त भएका दुवै जना कराँतेका रेफ्रीसमेत हुन् ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेर दुवै जनाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन हिजो अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी श्रेष्ठले बताउनु भयो । दुवै जनाले अन्तिम पटक गत जेठ महिनामा विराटनगरको विराट होटलमा सुवेदी र राउतले सामूहिक बलात्कार गरेको भनेर किटानी जाहेरी परेको छ । दिन भने उल्लेख गरिएको छैन । तर पालैपालो बलात्कार गर्दै मोबाइलमा भिडियोसमेत बनाएको भनिएको छ ।
प्रहरीका अनुसार मदिरा खुवाएर भिडियो बनाउँदै सामूहिक बलात्कार गरिएपछि मानसिक तनावका कारण आफू कलेजसमेत जान नसकेको पीडितले बताएकी छन् । प्रहरीका अनुसार लगभग दुई महिनाअघिदेखि युवती कलेज जान छाडेकी थिइन् । अभिभावकले सोधीखोजी गर्दा घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ ।