
विराटनगर, १२ साउन । कोशी प्रदेशमा डेङ्गु संक्रमण बढ्दै गएको छ । १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ ।
निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा ३ हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा ३ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको तथ्यांकले देखाएको छ ।
मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुंगा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम ५, सोलुखुम्बु ६ र तेह्रथुम २ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले विगत ५० वर्षको अवधिमा विश्वमा डेङ्गुको सङ्क्रमण ३० गुणाले बढेको पाइएको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीहरूद्वारा खोजपड्ताल र नष्ट गर्ने कार्यक्रम भइरहेको बताउनुभयो ।
असाध्यै शरीर दुख्ने, खाना मन नलाग्ने, पखाला लाग्ने, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा बान्ता हुनु आदि डेङ्गुको लक्षण रहेको उहाँको भनाइ छ । उहाँले यिनै लक्षणका आधारमा चिकित्सकहरूले डेङ्गु सङ्क्रमितको किटको माध्यमबाट चेकजाँच र उपचार गर्ने बताउनुभयो ।