विराटनगर सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फकाईयो, भारतबाट २ जनाको उद्धार

विराटनगर ८ साउन । माईती नेपाल विराटनगरले पछिल्लो ६ महिनामा ६२ जनालाई सीमा क्षेत्रबाट फर्काएको छ ।

विराटनगर रानी सीमा क्षेत्रबाट ६२ महिला तथा बालिकालाई फर्काइएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । माईती नेपाल विराटनगरले बाल यौन शोषण तथा मानव बेचबिखन विरुद्ध आज आयोजना गरेको क्षमताविकास कार्यक्रममा सो जानकारी दिईएको हो ।

मानव बेचविखनको जोखिममा रहेका उनीहरुलाई सीमा क्षेत्रबाट फर्काइएको कार्यक्रम संयोजक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुशार सीमा क्षेत्रबाट फर्काइएका मध्ये ३६ जना मोरङका रहेका छन् । सन् २०२५ जनवरी १ देखि जुन सम्मको अवधिमा भारतबाट २ जनाको उद्धार गरिएको, घरेलु हिंसाका ३२ वटा घटना भएको, वेपत्ता भएका १८ जना मध्ये ५ जना फेला परेको कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो ।

कार्यक्रममा माईती नेपालकी गीताञ्जली शर्माले बाल यौन शोषण र मानव बेचबिखन सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले अध्ययनका क्रममा पारिवारिक बेमेलका कारण महिला तथा बालबालिकाले घर छाडेर हिँड्ने गरेको पाईएको बताउनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद्का कोशी प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले खोजतलास १०४ को कार्य र माईती नेपालसँगको समन्वयको लगायतको विषयमा बोल्नु भएको थियो । इलाका प्रहरी कार्यालय रानीका मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक बाबुराम खनालले मानव बेचबिखनसम्बन्धी कानुनी पक्षबारे जानकारी दिदै सीमामा रोकिएका बालिका तथा महिलाको उद्धारपछि संग–संस्थासँग कसरी समन्वय गरेर काम अगाडि बढाइन्छ भन्ने विषयमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय रानी, सशस्त्र प्रहरी बल, राष्ट्रिय बाल कल्याण परिषद् अन्तर्गतको खोजतलास १०४, विराटनगर महानगरपालिका वडा नं. ४, १३, १५, १६ र १७ मा कार्यरत स्वयंसेविका, माईती नेपालद्वारा गठन गरिएको ‘सेफ्टी नेट सञ्जाल’ वडा नं. ८, १३, १५ र १६ का संयोजकहरुको सहभागिता रहेको थियो ।