मुख्यमन्त्री राईले हिंसा भड्काउन खोजेको भन्दै एमालेद्वारा सरकारको धारणा माग

विराटनगर, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ ।

मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न उसले माग गरेको हो । आजको प्रदेशसभा बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशको नामकरणको सन्दर्भमा मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको मुद्दा भएको र नभए उथलपुथल हुन्छ भन्दै जातीय र सामाजिक सद्भाव भड्काउन खोजेको अभिव्यक्ति दिने गरेको भन्दै सरकारको धारणा माग गर्नुभएको हो । मुख्यमन्त्रीले एउटा सीमित जाति विशेषको लागि मात्र नभएर सबैको भावनाबारे सोच्नु पर्ने उहाँले बताउनुभयो । अधिकारीले भन्नुभयोे, ‘पदको गरिमा कायम गर्नुपर्छ।

मानिसको भूमिका समय परिस्थितिअनुसार फरक पर्न सक्छ,’ मुख्यमन्त्रीले अरू पहिचानवादीलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुन्छ की हुँदैन भनी सांसद अधिकारीले प्रश्न गर्नुभयो । सांसद बिनादेवी राईले नामको विषयमा विपक्षमा हुँदा नाम राख्ने भन्ने तर सरकारमा पुगेपछि नामको विषयमा चासो नदिएको भन्दै सरकार के गरेर बसिरहेको छ भन्दै प्रश्न गरिन्।

सरकार नै हिंसा भड्काउन उद्धत रहेको उनले बताउनुभयो । उहाँले जनताको मागअनुसार तुरुन्तै प्रदेशको नामकरण गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री राई प्रदेश एकको नाम किरात राख्नुपर्ने पक्षमा रहनु भएको छ । उहाँले किरात नामकै विषयमा अभिव्यक्ति दिने गर्नुभएको छ ।