टेलिकमका कारण दुर्घटना बढ्दै

विराटनगर, ९ साउन । नेपाल टेलिकमले सडक खनेर छाडिदिएपछि कोसी लोकमार्गअन्तर्गत मोरङको बूढीगङ्गामा सवारी दुर्घटना बढिरहेको पाइएको छ । लोकमार्गको छ लेन उत्तर–दक्षिण सडकखण्डअन्तर्गत बूढीगङ्गा गाउँपालिकाको गङ्गा चोक र शान्ति चोकमा टेलिकमले तीन साताअघि सडक खनेर छाडिदिएको हो ।

च्याम्बर मर्मत गर्न भन्दै टेलिकमले सम्बन्धित निकायको अनुमति नलिइकन पश्चिमतर्फको सडक खनेर खाल्डा बनाइदिएको छ । सडक खनेर छाडिएपछि सवारी दुर्घटना बढेको गुनासो स्थानीयले गरेका छन् । स्थानीयका अनुसार मावनीय क्षति नै निम्तिने दुर्घटना हुँदा पनि खाल्डा पुरेर सडक पिच गर्नेतर्फ ध्यान दिइएको छैन । सडकभन्दा अग्लो च्याम्बरलाई सडकको सतह समान बनाउने भन्दै खाल्डो खनेर छाडिएपछि वरपर हिलाम्य बनेको छ । बूढीगङ्गा–२ को गङ्गा चोकस्थित साँघुरो सडकमा गत शुक्रबार बिहान ‘ओभरटेक’ गर्न खोज्दा हिलोमा चिप्लिएर लडेको मोटरसाइकल भारतीय कन्टेनरमा ठोक्किएर दुर्घटनासमेत भएको थियो । दुर्घटनामा परेर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भयो । घटनाको विरोधमा स्थानीयले केहीबेर कोसी लोकमार्ग अवरुद्धसमेत गरेका थिए । सम्बन्धित निकायले लापरबाहीपूर्ण तरिकाले सडकमा खाल्डो खनेर लामो समयदेखि त्यत्तिकै छाडिदिँदा दुर्घटना भएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

उनीहरुले उक्त सडकखण्डमा तत्काल सवारीसाधन सञ्चालन सहज बनाइनुपर्ने माग राखेका छन् । तर दुर्घटना भएको तीन दिन भइसक्दा पनि सम्बन्धित निकायले समस्या समाधानका लागि चासो दिएको छैन । नेपाल टेलिकम प्रदेश १ निर्देशनालयका शिविल शाखा प्रमुख प्रभाकर रायका अनुसार दुर्घटनाको जोखिम बढेपछि सडकको लेभलमा ल्याउन तीन साताअघिदेखि च्याम्बर व्यवस्थापनको काम थालिएको थियो ।

खनिएको खाल्डो वरपर ढलान गरेर छाडिएको र ढकन लगाउने तयारी भइरहेको उहाँले बताउनु भयो । रायले च्याम्बर व्यवस्थापन गरेर जतिसक्दो चाँडो सडकलाई पुरानै अवस्थामा फर्काइने पनि बताउनु भयो । छ लेन सडक आयोजनाका प्रमुख बद्री शर्माले टेलिकमले अनुमति नलिइकन आफूखुसी सडक खनेर छाडेको बताउनु भयो ।