एनवाईईएफ विराटनगरद्वारा संघीय उद्योगमन्त्री भण्डारीकाे ध्यानाकर्षण

विराटनगर, ४ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा शनिबार काठमाडौं पुगेको टोलीले उद्यमीका समस्या र सुझावसहितको ज्ञापनपत्र मन्त्री भण्डारीलाई हस्तान्तरण गरेको  हो ।

ज्ञापनपत्रमा नेपालको आर्थिक विकासमा टेवा पुर्याउँदै रोजगारीका अवसर सृजना गर्न मञ्चले गरेको कार्यसहितका विभिन्न सुझावहरु समेटिएको एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार ज्ञापनपत्रमा राष्ट्रनिर्माणको मेरुदण्डको रुपमा रहेका युवाहरुलाई लक्षित गर्दै उद्यमशीलतालाई सहज बनाउन बुँदागत रुपमा पाँचवटा सुझाव समेत समेटिएका छन् ।

युवा लक्षित उद्यमशीलताको विकासका निम्ति नीति तथा कानूनी सुधार, वित्तीय पहँुच स्थापना, सीप र प्रविधिमा पहुँच, बजार पहुँच र प्रोत्साहन तथा इकोसिस्टम विकासलगायतको विषय ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

युवा उद्यमीहरुको ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री भण्डारीले जायज माग र सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै व्यवहारमा लैजान छलफल गर्ने र यथासक्दो चाँडो कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा मन्त्री भण्डारीले मञ्चले गरेको कार्यको प्रशंसा गर्दै युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न र उद्यमशीलतामा लाग्न सुझावसमेत दिनुभयो । मन्त्री भण्डारीले युवाहरुलाई स्वदेशमै अथाह सम्भावना भएकोले देशमै बसेर व्यापार व्यवशायमा लाग्न तथा उद्यमशील बन्न आग्रहसमेत गर्नुभयो ।