कोसी टप्पुमा रुखले किच्दा युवकको मृत्यु

विराटनगर, ८ साउन । रुखले किच्दा घुमफिरका लागि सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्षमा गएका एक युवकको मृत्यु भएको छ । अर्का युवक घाइते भएका छन् ।

सुकेको सिसौको रुख ढलेर किच्दा सुनसरीको धरान उपमहानगरपालिका–११ का २४ वर्षीय धीरज तामाङको आज दिउँसो मृत्यु भएको हो । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित आरक्षमा घुमफिर गर्ने क्रममा रुखले किचेर तामाङको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नरेन्द्र कार्कीले जानकारी दिनु भयो । उहाँका अनुसार दिउँसो ३ः३० बजेतिर घटना भएको हो ।

रुखले किच्दा तामाङसँगै वन्यजन्तु आरक्ष घुम्न गएका बराहक्षेत्र–५ का २४ वर्षीय सौगेन्द्र विष्ट घाइते भएको जानकारी कार्कीले दिनु भयो । सुकेको रुखले किचिरहेको अवस्थामा विष्टलाई उद्धार गरिएको थियो । छात्ती, पेट तथा शरीरका विभिन्न भागमा चोट लागेका विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । विष्टको विराटनगरस्थित विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालमा उपचार भइरहेको छ ।

रुखले किचिरहेको अवस्थामा आरक्षका कर्मचारीले उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरेका हुन् । तामाङ र विष्ट प्रदेश १–०२–०४४ प ६६८१ नम्बरको स्कुटरमा कोसी टप्पु घुम्न गएको खुलेको छ । ढलेको रुखले लागेर स्कुटरको अगाडिको भागमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।