बाहिर किरात प्रदेशको माग, भित्र सांसदको गुहार…गुहार

विराटनगर, ९ साउन । प्रदेशसभाको आईतबारको बैठकमा प्रदेशसभामा गुहार….गुहार…गुहार गरेपछि सांसदहरुमा हाँसोको फोहोरा नै छुट्यो । प्रदेशसभा बैठकमा एमाले सांसद सर्वध्वज साँवाले प्रदेश १ को नामकरण प्रति लक्षित गर्दै गुहार….गुहार….गुहार गरेका थिए ।

चालु आर्थिक वर्षको बजेट गत असार १९ गते पारित भएपछि स्थगित भएर आईतबार बैठक शुरु हुनु अघि देखिनै प्रदेशसभा बाहिर पहिचान पक्षधरहरुले प्रर्दशन गरिरहेका थिए । प्रदेशसभा प्रवेश गर्ने पुर्व, पश्चिम दुवैतिर पहिचान पक्षहरुलेहरु किरात प्रदेशको माग गर्दै नारावाजी गरिरहेका थिए । सोही नारावाजीलाई छल्दै प्रदेशसभा पुगेका सांसद साँवाले शुन्य समयमा गुहार. गुहार… गुहार…..गर्दै आफुहरु समस्यामा परेको बताए । शुन्य समयमा अम्विका थापा, इन्द्रमणि पराजुली, जसमाया गजमेर, विमल कार्की, राजकुमार ओझा र लोकप्रसाद संग्रौलापछि बोलेका साँवाले सांसदहरुलाई बलीको बोका बनाउन खोजिएको बताए । उनले भने,‘ हामी खतरामा छौं, हामीलाई बचाउनोस् ।’ ‘प्रदेशको नाम ‘कोसी’ राख्न पार्टीले डण्डा चलाउने अनि जनताले पहिचान नराखे देखाइदिने भनिरहेका छन् ।’ एमाले सांसद साँवाले भने,‘ कोसीलाई नमान्दा पार्टीले भोलि टिकट दिन्न भन्ने र किरात, लिम्बुवान पहिचानलाई नमान्दा जनताले चुनावमा देखाइदिन्छु भन्ने दोहोरो घेराबन्दीका कारण खतरामा परेका छौं ।’ नामकरणका लागि गोप्य मतदान मिलाउन सभामुख समक्ष उनको माग छ ।

आईतबारको प्रदेशसभाको बैठक चलिरहँदा प्रदेशसभा बाहिर आदीवासी जनजाती महासंघ र किरात राई यायोक्खाले किरात प्रदेशको माग गर्दै नारावाजी गरिरहेको थियो । चालु अधिवेशनबाटै प्रदेश १ को नामकरणको चर्चा चलेसँगै पहिचान पक्षधरले पछिल्लो एक साता देखि विराटनगर केन्द्रीत प्रदर्शनलाई तीव्र बनाएको छ । यसअघि मुख्यमन्त्री कार्यालय अगाडी प्रर्दशन गर्दै आएका उनीहरु अहिले प्रदेशसभा अगाडी केन्द्रीत भएका छन् ।

शुक्रबार सर्वदलीय वैठक अघि पनि उनीहरुले प्रर्दशन गर्दे किरात प्रदेशको माग गरेका थिए । साकेला नाच्दै प्रदर्शन गरेका उनीहरुले आईतबार प्रदेशसभा प्रवेश गर्नै दुवैमार्गमा प्रदर्शन गर्दै आमसभा गरेका थिए । पहिचान सहित प्रदेश नामकरण मागको कार्यक्रमलाई निरन्तरता दिईने किरात राई यायोक्खाका प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।