
विराटनगर ३० असार । २०८१ सालको एसईईको परीक्षाफल २०८२ असार १३ गते प्रकाशित भयो । देशभरबाट नियमित तर्फ ४ लाख ३८ हजार ८ सय ९६ जना विद्यार्थी सहभागि थिए । यस वर्ष नतिजा सुधारिएर ६१ दशमलव ८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे । बाँकी एनजी अर्थात ग्रेड बिहीन बन्न पुगे ।
यस्तै विराटनगर महानगरपालिका भित्रका २५ सामुदायिक (सार्वजनिक) र ७२ संस्थागत (नीजि) विद्यालय गरि ९७ विद्यालयका ४ हजार ५ सय २९ जनाले एसईई परिक्षा दिएका थिए । ति मध्ये ३ हजार ६ सय ९० अर्थात ८१ दशमलव ४७ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरे भने बाँकीले एनजी ल्याए । देशभरको कुल रिजल्ट सँग महानगरको नतिजा तुलना गर्दा २० प्रतिशत भन्दा बढीले राम्रो स्थिति देखिन्छ ।
यद्यपी समग्रतामा हिसाब गर्दा ९७ विद्यालय मध्ये २ विद्यालयको नतिजा शुन्य रह्यो । जहाँबाट एक जना विद्यार्थीले पनि ग्रेड प्राप्त गर्न सकेनन् । ति विद्यालय प्रतिनिधि मुलक दृष्टिले एक संस्थागत र अर्को सामुदायिक हुन् । यसैगरि २८ वटा विद्यालयले भने शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउन सफल भए । प्रतिनिधि मुलक रुपमा एक सामुदायिक र २७ वटा संस्थागत विद्यालय छन् । यो तथ्याङ्कलाई हेर्ने हो भने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न अझै मेहनत गर्नुपर्ने विज्ञहरुको भनाई छ ।
सेवा निवृत्त शिक्षा प्रशासक अशोक कालाखेतीका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयको अवस्था, त्यहाँको मानव संशाधन, व्यवस्थापकीय अवस्था ख्याल गर्न आवश्यक रहेको बताउनुभयो । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख जीवन गड्तौलाले हरेक विद्यालयको गुणस्तर सुधार्न आधारभूत तह देखिनै ध्यान दिन जरुरी रहेको बताउनुभयो । विद्यार्थीको प्राप्ताङ्क भनेको एउटा ‘इन्डिकेटर’ मात्र हो भन्दै उहाँले विद्यार्थीलाई व्यवहारत जीवनसँग जोडेर अघि बढ्न सिकाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
अभिभावक संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा कोशी अध्यक्ष देवी पन्थी विद्यालयहरुले समग्र विद्यार्थीको समान शिक्षाको प्रबन्ध गर्नुपर्ने आवश्यकता औल्याउनुहुन्छ । उहाँले भन्नुभयो, ‘केही विद्यार्थीले ४ जीपीए ल्याए तर केहि विद्यार्थी भने अनुत्तीर्ण हुनुपर्ने अवस्थालाई राम्रो मान्न सकिदैन ।’ सरोकारवाला पक्षले ४ जीपीए ल्याउने विद्यार्थीलाई प्रोत्साहनका लागि सम्मान गर्नु अत्यन्त राम्रो भएपनि त्यसकै आधारमा विद्यालयलाई सम्मान गर्न आवश्यक नरहेको बताएका छन् । सेवा निवृत्त शिक्षा प्रशासक कालाखेतीले शत प्रतिशत विद्यार्थी उत्तिर्ण गर्ने वा अझ भनौं सबैभन्दा राम्रो ग्रेडमा धेरै विद्यार्थी उत्तिर्ण गराउने विद्यालयको चयन गरी उत्कृष्टताको मापन गरिनुपर्ने बताउनुभयो । ताकि हरेक विद्यालयले समग्र विद्यार्थीको शैक्षिक उन्नयनमा ध्यान दिन सकुन् ।
यस विषयमा विराटनगर महानगरपालिकाका शैक्षिक महाशाखा अधिकृत कृष्ण भट्टराईले भने समग्र मूल्याङ्कनकै आधारमा विद्यालयको उत्कृष्टता तय गरिने बताउनुभयो । ४ जीपीए ल्याउने विद्यार्थीलाई सम्मान भने उपल्लो नतिजा ल्याएकाले प्रोत्साहन स्वरुप गरिएको बताउनुभयो ।
हेरौं बढी विद्यार्थी भएका संस्थागत र सामुदायीक चार चार विद्यालयको नतिजा
(यहाँ तथ्याङ्कको तालिका हाल्ने )
माथि प्रस्तुत तथ्याङ्कलाई नै हेर्ने हो भने समग्रतामा शतप्रतिशत नतिजा निकाल्न सक्ने उत्कृष्ट विद्यालयहरुमा एभरेष्ट सेकेन्डरी स्कुल देखिन्छ । जहाँ शतप्रतिशत उत्तिर्ण मात्र नभई शतप्रतिशत विद्यार्थीले नै निर्धारित जीपीए (महानगरले आधार बनाएको ३.२ जीपीए) भन्दा माथि ल्याएको देखिन्छ । बिकेभीएमबाट एक जना विद्यार्थीले एनजी ल्याएकाले उत्तिर्ण प्रतिशतमा कमी हुन पुगेको छ भने सगरमाथाका ६ विद्यार्थी एनजी आएकाले उत्तिर्ण प्रतिशत ९४. ५० प्रतिशतमा झरेको छ । यस्तै ८८ विद्यार्थीले परिक्षा दिएको बुढानिलकण्ठको एक विद्यार्थीले एनजी ल्याउँदा ९८ दशमलव ८६ प्रतिशतले मात्र उत्तिर्ण गरेका छन् ।
यसैगरि सामुदायिक तर्फका बढी विद्यार्थी हुने चार विद्यालय मध्ये पोखरीया माविका ४१७ विद्यार्थी मध्ये ४१२ जनाले ग्रेड प्राप्त गर्दा ५ जना ग्रेड बिहीन बनेका छन् । पोखरीयाका ९८.८० प्रतिशत विद्यार्थीले उत्तिर्ण गरेका छन् । यो तथ्याङ्क अनुसार सामुदायिक विद्यालयहरुमा पोखरी मावि अब्बल देखिन्छ । आदर्श स्कुलका ९०.८८ प्रतिशत विद्यार्थीले उत्तिर्ण गरेका छन् । जहाँ ३२९ विद्यार्थीले परिक्षा दिएकोमा २९९ विद्यार्थीले ग्रेड ल्याउँदा ३० जना विद्यार्थी ग्रेड बिहीन बन्न पुगेका छन् ।
सत्यनारायणका २९७ मध्ये २३८ विद्यार्थी उत्तिर्ण हुँदा ५९ जना विद्यार्थीले एनजी ल्याए । यस्तै गोग्राहा मावि बाट १४७ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए भने ७० जनाले ग्रड ल्याउँदा ७७ जनाले एनजी प्राप्त गरे । गोग्राहाले मात्र ४७.६२ प्रतिशत नतिजा निकालेको छ ।