मुख्यमन्त्री राईको अभिव्यक्तिप्रति नेकपा एमालेद्धारा खेद ब्यक्त

विराटनगर, ७ साउन । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ ।

आज सम्पन्न जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने, तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै त्यसप्रति खेद ब्यक्त गरेको हो । एमाले मोरङले अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न समेत सुझाव दिएको छ ।

सार्वजनिक महत्वका क्षेत्रमा विभिन्न १८ बुँदे निर्णय गरेको एमाले मोरङले अलपत्र अवस्थामा छाडिएको हु्लाकी राजमार्ग र रतुवा खोलाको पूल निर्माणको काम अविलम्ब सक्न सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै अधिक बजेट खर्च गरेको देखाउने नाममा प्रदेश सरकारले गत जेठ र असारमा अत्यन्तै कमसल तथा गुणस्तरहिन काम गर्दै अरबौं रुपैयाँको अपचलन गरेको भन्दै एमालेले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । धान रोप्ने मुख्य समयमा समेत मल र बिउँको उचित व्यवस्थापन नगरेर वर्तमान सरकार राज्यको ढुकुटी लुट्न मात्र उद्दत देखिएको आरोप लगाउँदै एमाले मोरङले यस्ता कृयाकलापप्रति खेद ब्यक्त गरेको छ ।

मोरङका विभिन्न नाकाबाट सरकारी आडमै दिनदहाडै तस्करी संस्थागत हुँदै गएको भन्दै एमालेले तस्करी रोक्न र प्राकृतिक विपद्को क्षति न्यूनिकरणका लागि गम्भिर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । सरकारी सेवाप्रदायक कार्यालयहरुमा हुनेगरेको ढिलासुस्ति, अनियमितता, भ्रष्टचार, घुसखोरीलगायतका बेथितिहरुलाई नियन्त्रण गरि आम नागरिकलाई सहज, सरल र भरपर्दाे सेवा प्रवाह गर्न ध्यानाकर्षण गराएको छ । यस्तै नेकपा एमाले मोरङले आगामी दुई महिनाभित्र पार्टीको संगठनात्मक कामलाई पूर्णता दिई राजनैतिक तथा वैचारीक प्रशिक्षण अभियान चलाउने भएको छ ।

पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार दुई महिनाभित्र पार्टीका सम्पूर्ण कमिटी तथा जनसंगठनहरुलाई पूर्णता दिई गतिवान बनाउने निर्णय भएको बताउनुभयो । यस्तै राजनैतिक वैचारीक प्रशिक्षण अभियानलाई वडा, टोल, पालिका र निर्वाचन क्षेत्र र जिल्लास्तरमै सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लास्तरीय प्रशिक्षण साउन २३ गते मोरङको सुन्दरहरैचाको विराटचोकमा आयोजना हुनेछ ।