पार्टीलाई सही मार्गमा डोर्याउन सकारात्मक आलोचनाको आवश्यकता : घिमिरे

विराटनगर २८ असार ।  नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले पत्रकारहरूले सकारात्मक आलोचना मार्फत पार्टीलाई सही बाटोमा हिँडाउन प्रेरित गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल, मोरङ समितिद्वारा आयोजित पार्टीसँगको अन्तरक्रिया कार्यक्रममा घिमिरेले पत्रकारिता केवल राजनीतिक दृष्टिकोणबाट मात्र नभई फराकिलो दृष्टिले गर्नुपर्नेमा जोड दिए । उनले पार्टी र प्रेस चौतारीबीचको सम्बन्धको बुझाइमा देखिएको फरकतालाई एकरुपता बनाउनुपर्ने भन्दै यसबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज सुमन सुस्केराले पार्टी नेतृत्वले गरेका सकारात्मक कामको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । उनले पार्टीका उपलब्धिहरूलाई प्रचारमा ल्याउन पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

नेकपा एमाले कोशी प्रदेशका सदस्य तथा प्रचार–प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले पनि पार्टीका सकारात्मक गतिविधिहरूलाई बाहिर ल्याउन जोड दिए । उनले पार्टी र प्रेस चौतारीबीचको सम्बन्धलाई आमाबुबा र छोराछोरीको सम्बन्धसँग तुलना गर्दै पछिल्लो समय व्यक्तिगत स्वार्थले सामाजिक उत्तरदायित्व ओझेलमा परेको धारणा राखे । आलोचना सकारात्मक ढंगले गरियो भने सोचसमेत सकारात्मक हुने उनले बताए ।

कार्यक्रममा नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा र उप–सचिव सन्तोष वान्तवाले पनि प्रेस चौतारी मोरङले पार्टीका सकारात्मक गतिविधिहरूको प्रचारमा सक्रिय हुनुपर्नेमा जोड दिए । उनीहरूले पार्टी र चौतारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्ने धारणा व्यक्त गरे विराटनगर महानगरपालिकाका अध्यक्ष बलराम गिरी, उपाध्यक्ष सुरज न्यौपाने र सचिव विज्ञान चापागाईंले पनि प्रेस चौतारीले पार्टीले गरेका राम्रा कामको प्रचार र कमजोरीको सकारात्मक आलोचनासहित प्रचारप्रसार गर्नुपर्ने बताए ।

प्रेस चौतारीका संस्थापक अध्यक्ष दिपेन नेउपानेले पार्टी र चौतारीबीच विगतदेखि नै सकारात्मक सम्बन्ध रहेको बताए । उनले चौतारीले जहिल्यै पनि सकारात्मक आलोचनासहित समाचार प्रकाशन गरेर पार्टीलाई सहयोग गर्दै आएको उल्लेख गरे ।

प्रेस चौतारी मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका जिल्ला र महानगरका पदाधिकारी, प्रेस चौतारी मोरङका पूर्वअध्यक्ष, अग्रज पत्रकार तथा कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।