बहुमत जनताको भावनालाई संवोधन गर्न हिन्दु राष्ट्र बनाउन आवस्यक : भीम पराजुली

विराटनगर २२ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले बहुमत जनताको भावनालाई संवोधन गर्न सनातन हिन्दु राष्ट्र बनाउन जरुरी रहेको बताउनु भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकलाई आज संवोधन गर्दै नेता पराजुलीले धर्म परिवर्तनको दबाब र विवादका वीच सामाजिक तनाव बढेको देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ पछिल्लो समय नेपालमा धार्मिक कारणले विभिन्न समस्याहरू उत्पन्न भएको हामीले अनुभुती गरिरहेका छौ । यस्ता गतिविधिले एउटै धर्म र समुदायहरूबीच पनि अविश्वास खडा गरेको छ ।’ धार्मिक सहिष्णुता, समानता र सद्भावलाई कायम राख्न र बहुमत जनताको भावनालाई संवोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउन जरुरी रहेको पराजुलीले बताउनुभयो ।

केन्द्रीय समिति बैठकमा उहाँले कांग्रेसमा अनुशासन र आचारसंहिताको खाचो देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपाली कांग्रेस आफैमा अनुशासनको पर्याय हुनुपर्ने हो । देशको सवैभन्दा ठूलो लोकतान्त्रिक पार्टीमा अनुसाशन कमजोर भएको अनुभुती मैले गरेको छु । ’ नेता पराजुलीले कांग्रेसमा क्रियाशिल सदस्यको बर्गीकरण गर्ने व्यवस्थाको सुरुवात गर्नुपर्ने बताउनुभयो । उहाँले क्रियाशिल व्यक्ति कुन पद र सम्मान पाउन योग्य छ भन्ने कुराको विश्लेषण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

कांग्रेस एमालेको गठवन्धन भइरहनु देशकै लागि हितकर भएको उहाँले बताउनुभयो । गठबन्धन ठिक भएपनि सरकारमा रहेको ठूलो दल कांग्रेसले लाभ भन्दा हानी वेहोर्नु परेको अवस्था रहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘ विकास निर्माणका सवालमा सहमतिको सरकारका नाममा नेकपा एमालेका मन्त्रीहरुले आफुखुसी वजेटहरु आफ्नो क्षेत्र लगेको देखिन्छ । यो रोग कांग्रेसमा पनि देखियो । यो राम्रो पक्ष होइन । यसले समग्रमा कांग्रेसलाई कमजोर बनाउछ । ’