खोला दोहन नरोकिदा किसानलाई सिँचाईको समस्या

विराटनगर, ४ साउन । मोरङको सुन्दरहरैचा र ग्रामथानका किसानलाई वर्षेनी सिँचाईमा समस्या हुँदै गएको छ । सुन्दरहरैचा १ र ग्रामथान ४, ५, ६ र ७ नम्वर वडाका किसानले केही वर्ष यता खेतमा सहजै लोहन्द्रा खोलाको पानी पुर्याउन सकेका छैनन् । खेतीसम्म पुर्याउने पानी लैजाने पैनीको मुहान गहिरिएर गएको छ । हरेकवर्ष मुहान सारेर पानी लैजानु पर्ने बाध्यता छ । यही अवस्था रहीरहे अवको केही वर्षदेखि सुन्दरहैचा र ग्रामथानका किसानको खेतमा पानी नै नपुग्ने जोखिम देखिएको छ ।

खोला १५ फिटभन्दा बढी गहिरिएर गएको स्थानीय इन्द्र भट्टराईले बताए । पैनीबाट खोलाको सतह गहिरिएर गएको र पैनीबाट पानी लगेर सिँचाई गर्न नपाउँदा धान रोपाइँ नै प्रभावित बनेको उनले बताए । खोला गहिरिएका कारण पैनीमा पानी नचढ्दा सिँचाई सुविधा नभएर रोपाइँ गर्न नपाउँदा खेत बाँझै बस्ने अवस्था रहेको उनको गुनासो छ । सुन्दरहरैँचा नगरपालिका–१ को लोहोन्द्रा खोलाबाट लगिएको लोहोन्द्रा–हैँसरी पैनीले चार हजार पाँच सय बिघाभन्दा बढी खेतीयोग्य जमिन सिँचाई हुँदै आएको छ । लोहोन्द्रा खोलाबाटै लोहोन्द्रा–कोरियाडाँगी र लोहन्द्रा किस्ती पैनी पनि सञ्चालनमा छ ।

लोहोन्द्रा–कोरियाडाँगीले करिव ७ सय र लोहन्द्रा–किस्ती पैनीबाट करिव ५ सय विगाहा जमिनलाई सिँचाई हुँदै आएको छ ।
खोलामा जेसीबी र एक्साभेटर हालेर उत्खनन गर्न थालेपछि स्थानीयवासीले विरोध नगरेका होईनन् । प्रहरी लगाएर स्थानीयलाई लखेट्ने काम गरिएको स्थानीय हरि दाहालले बताए । सुन्दरहरैचा नगरपालिका र प्रशासनसमेतको मिलेमतोमा उत्खनन गर्दै नदीजन्य पदार्थ निकालेको उनको भनाई छ । मेसिन हालेर खोलामा चरम दोहन गरिएको भन्दै नगरपालिकामा दिएको उजुरी पनि सुनुवाइ नभएको उनले बताए । कानुनी आधार बिनानै मापदण्डविपरीत ठेकेदारले मेसिन हालेर नदीजन्य पदार्थ उत्खनन गर्न थाल्दा न नगरपालिकाले रोक्यो, न त कारबाही नै गरियो । खोला च्यानलाइजका नाममा मेसिन प्रयोग गरेर अवैध उत्खननका लागि ठेकेदारलाई सजिलो बनाइदिने काम नगरपालिकाबाटै भएको उनले बताए ।

आर्थिक वर्ष २०७८÷०७९ का लागि सुन्दरहरैँचा नगरपालिकाले लोहन्द्रा, गछिया, खदम र बूढी खोला ठेक्का लगाएको पाईएको उनले बताए । ६८ लाख घनफिट मात्रै उत्खनन् गर्न पाउने गरी भ्याटबाहेक ६ करोड १८ लाख रूपैयाँमा मनन कन्सट्रक्सन प्रालिलाई खोलाको ठेक्का दिइएको पाईएको उनले बताए । ठेक्का प्रकृया लगायतबारेका कागजात खोजीको काम भईरहेको नगर प्रमुख गुरागाईले बताए । उनले भने,‘ खोला दोहन गर्ने सबैलाई कारबाहीको दायरामा ल्याइने छ ।’