कोशी प्रदेश आम सञ्चार विधेयकको ६२ वटा बुँदामा संशोधन गर्न सुझाव 

विराटनगर १३ असार । कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयकको ६२ वटा बुँदामा संशोधनका लागि सुझाव दिइएको छ । साझा सवालका लागि साझा मञ्च कोकनले युएनडिपीसँग सहयोगमा संसद् सहयोग परियोजना अन्र्तगत आयोजना गरिएको कार्यक्रममा सरोकारवालाहरूले सो सुझाव दिएका हुन । 

कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार तथा सम्बन्धित विषयगत समितिका सभापति तथा प्रमुख राजनीतिक दलका सचेतक तथा प्रदेशसभा सदस्यहरूको सहभागितामा भएको छलफल कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै उक्त सुझाव दिइएको थियो । 

कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेश आमसञ्चार विधेयक आम नागरिक र आमसञ्चारकर्मीको हितमा आउने विश्वास व्यक्त गर्नुभयो । छलफलको क्रममा आएका सुझावले विधेयकलाई पूर्ण र परिपक्व बनाउन सहयोग पुग्ने उहाँको भनाई थियो । 

कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले आमसञ्चार विधेयक विषयगत समितिमा छलफलको क्रममा रहेको र आमसञ्चारकर्मीको हित हुने गरि विधेयकलाई पूर्णता दिइने प्रष्ट पार्नुभयो । 

कोशी प्रदेश न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले विधेयकका विषयमा आएका धेरै विषयहरू यस अघिनै समेटिएकोछलफलमा अहिले आएका महत्वपूर्ण विषयलाई पनि विधेयकमा समेटिँदै जाने बताउनुभयो । 

कार्यक्रममा विधेयकका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुहुँदै पत्रकार कमल पौडेल तथा अधिवक्ता कोषराज न्यौपानेले विधेयकका विभिन्न बुँदागत विषयमा संशोधन आवश्यक रहेको भन्दै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

आयोजक संस्थाका अध्यक्ष मन्जिता उपाध्यायले विधेयक परिमार्जन गर्न सहज होस भन्ने उद्देश्यले संस्थाले सरोकारवालाहरू सँग छलफल गर्दै आएको बताउनुभयो । 

दफावार छलफलमा रहेको सो विधेयकका विषयमा यसअघि कोकन संस्थाले सञ्चारकर्मीहरूसँग छलफल गर्दै विभिन्न सुझाव समेत सङ्कलन गरेको थियो । 

प्रदेश सरकारले आम सञ्चार विधेयक असार भित्रमा संसदबाट पास गर्ने तयारी गरेको छ ।