खेलकर्मीहरूको आशा बढाउँदै कोशी प्रदेश सरकार

विराटनगर, १२ असार । कोशी प्रदेश सरकारले खेल क्षेत्रलाई आफ्नो प्राथमिकता भित्र राखेको छ । प्रदेश स्थापनासँगै २०७६ मा प्रदेश खेलकुद ऐन ल्याएर खेलकुदका गतिविधि, खेलकर्मीहरुको सम्मान, पूर्वाधार निर्माणमा प्रदेश सरकारले विशेष महत्व दिएको छ । खेलकुदका गतिविधिलाई तीव्र पार्ने उद्देश्यले छुट्टै खेलकुद विकास बोर्ड गठन गरि काम अघि बढाईएको छ । प्रदेशको प्राथमिकतामा खेलकुद परेपछि खेलकर्मीहरूमा आशा र उत्साह थपिएको छ ।

खेलकुदका पूर्वाधार निर्माणसँगै खेलकुदको निरन्तर गतिविधि, विभिन्न प्रतियोगिता तथा खेलकर्मीहरूलाई गरिने सम्मानले प्रदेशका युवा खेलाडीहरूमा सकारात्मक ऊर्जा थपिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१–८२ मा ३० भन्दा बढी प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ । आगामी वर्षको लागि थप योजना प्रदेश सरकारले अघि सारेको छ ।
प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै काठमाडौंपछि पहिलोपटक मोफसलमा रात्रीकालीन खेलका लागि स्थायी फ्लड लाइट विराटनगरको सहिद रंगशालामा निर्माण गरिएको छ । रंगशालामा स्थायी लाइट जडान भएपछि विराटनगरमा रात्रीकालीन खेलकुदका प्रतियोगिता हुन थालेका छन् ।

विराट गोल्डकप मात्रै नभई विद्यालयस्तरीय, कलेजस्तरीय फुटबलका साथै भेट्रान फुटबल प्रतियोगिता हुन थालेका छन् । विराटनगरको चर्काे गर्मीमा खेल्न बाध्य भएका खेलाडीहरू रात्रीकालीन खेल हुन थालेपछि खुसी भएका छन् । यहाँ स्थायी लाइट जडानपछि नेपाल फुटबलको राष्ट्रिय टोलीले रात्रीकालीन खेल अभ्यास गर्नसमेत आउन थालेका छन ।

विराटनगरको स्थायी लाइटमा फुटबलका खेलाडी मात्रै होइनन् हक्कीका खेलाडीमा समेत उत्साह देखिएको छ । प्रत्येक वर्ष विराटनगरमा हुने हक्कीको राष्ट्रिय प्रतियोगिता दिउँसो घाम हुने गरेको थिया े। स्थायी लाइट जडानपछि उनीहरू सहिद रंगशालमा रात्रीकालीन खेल खेल्दा खुसी भएका थिए । उनीहरूले भारतसँग मात्रै रात्रीकालीन हक्की प्रतियोगिता खेलको अनुभूव सुनाएका थिए ।
प्रदेश सरकारले इटहरी, धरान, झापालगायतका रंगशालामा पनि फ्लड लाइट केही जडान गरेको छ भने बाँकी रहेको स्थानमा जडान गर्दै लगिने भएको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको खेलकुद विकास बोर्डले आर्थिक वर्ष २०८१–८२ मा सम्पन्न खेलकुद प्रतियोगिताहरूका माध्यमबाट खेलकर्मीहरूको क्षमता अभिवृद्धि, खेल संस्कृतिको विस्तार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आधार निर्माण गर्ने लक्ष्य लिएको छ । बोर्डले आफ्नै आयोजनामा तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा खेलकुदका विभिन्न प्रतियोगिता र कार्यक्रमहरू सञ्चालन गरेको छ, जसले खेलकुद क्षेत्रलाई पुनः जीवन्त बनाएको छ ।

खेलकुद विकास बोर्डका अनुसार चालु आर्थिक वर्षमा सम्पन्न भएका प्रदेशस्तरीय प्रतियोगितामा कराँते, जूडो, तेक्वान्दो, क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, बाघचाल, बुद्धिचाल, उसु, डोरीतान, किकबक्सिङ, व्याडमिन्टन, एथलेटिक्स, गल्फ, सफ्ट टेनिस, कबड्डी, कुस्ती, आईटीएफ तेक्वान्दो, शारीरिक सुगठन, बक्सिङ, बाघचाल (भेट्रान्स), पौडीजस्ता खेल विधाहरू समेटिएका थिए । यी खेल प्रतियोगिताहरू प्रदेशका विभिन्न जिल्लामा सम्पन्न गरिएको थियो, जसको उद्देश्य ग्रामीण भेगका लुकेका प्रतिभाहरूको पहिचान गरी तिनीहरूलाई राष्ट्रियस्तरसम्म पुर्याउनु रहेको प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम वस्नेत (कृष्ण)ले बताए ।

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल, मनमोहन कप विशेष क्रिकेट र महिला–पुरुष दुवै समावेश गरिएको प्रदेशस्तरीय फुटबलजस्ता कार्यक्रमहरूले खेलकर्मी उत्पादनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको वस्नेतको भनाई छ । खेलकुद बोर्डले यस्ता प्रतियोगितासँगै खेलकर्मी सम्मान कार्यक्रम, संस्थाहरूलाई आर्थिक अनुदान, खेलकुद दिवस मनाउनेजस्ता कार्यक्रमहरू पनि सञ्चालन गरेको उनको भनाई छ ।

अन्तर्राष्ट्रिय पदक विजेता कराँते खेलाडी संयुना मगरले कोशी प्रदेश सरकारले पछिल्लो समय खेलकुदमा बढाएको चासो र लगानीले आफूजस्ता खेलाडीहरूलाई थप आशावादी बनाएको बताइन । उनले भनिन्,‘गत वर्षदेखि लगातार प्रतियोगिता हुँदै आएको छ । यस्ता प्रतिस्पर्धाले मेरो अनुभव र आत्मविश्वास बढेको छ ।’

कराँते प्रशिक्षक प्रभाकर रानाका अनुसार प्रदेशस्तरमै निरन्तर प्रतियोगिता सञ्चालन हुँदा खेलाडीमा निखार आउने र उनीहरूको प्रदर्शनमा गुणात्मक सुधार देखिएको छ । खेलकुद विकासमा लामो समयदेखि योगदान दिँदै आएका वरिष्ठ खेलकर्मी र प्राविधिकलाई नगदसहित सम्मान गरिनुले खेल क्षेत्रमा समर्पित सहयोगकर्ताहरूको भूमिका उजागर गरेको सदस्य सचिव बस्नेतले बताए । उनका अनुसार, सम्मानहरूले केवल प्रोत्साहन गर्नै मात्रै नभइ भविष्यका खेलकर्मीहरूलाई पनि प्रेरणा दिने छ ।

प्रदेश सरकारको आगामी योजना अनुसार प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने भएको छ । यसका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट आवश्यक जग्गा प्रदान गर्ने सहमति भइसकेको छ भने साउन महिनाबाट निर्माण कार्य सुरु गरिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी बताए । खेलकुद ग्राममा प्रशिक्षण, छात्रावास, अध्ययन केन्द्र र अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रंगशालासमेत रहने मुख्यमन्त्री कार्कीले बताए । कोशी प्रदेशमा आउँदो वर्ष अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ ।

मुख्यमन्त्री कार्कीका अनुसार चालु वर्षको बजेटमा खेलकुद ग्रामका लागि रकम विनियोजन गरिएको छ । खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले दीर्घकालीन योजना अघि सारेको र खेलकर्मीलाई मनोबल उच्च बनाउने बताउँदै उनले भने, ‘खेलकर्मीलाई सरकारको साथ रहनेछ । खेलाडीको उपचार, बीमा तथा प्रोत्साहन प्याकेज समेत बजेटमा समेटिएको छ ।’

खेलकुद विकास बोर्डले विभिन्न विधागत प्रतियोगिता आयोजनाका अतिरिक्त संस्थागत सुधारको दिशामा पनि कदम चालेको छ । खेल संघ तथा खेल संस्थाहरूको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्ग निर्देशन – २०८१ जारी गरेपछि प्रदेशका क्लब तथा खेल संस्थाहरूको दर्ता प्रक्रियामा तीव्रता आएको छ । यसले लामो समयदेखि ठप्प जस्तै बनेको प्रदेशको खेल गतिविधिमा पुनः उत्साह थपेको सदस्य सचिव बस्नेतको भनाइ छ । उनले भने,‘ अझै कानुन संशोधनको आवश्यकता छ । हालको कानुनी संरचनाले खेलकर्मीको उपचारलगायत विषयमा स्पष्टता नहुँदा व्यवहारिक कठिनाइ भोग्नुपरेको छ । नयाँ कानुनले निजी क्षेत्र, संघ संस्था र स्थानीय सरकारसँग सहकार्य सहज बनाउने विश्वास लिएका छौं ।’

प्रदेश सरकारको आगामी योजना अनुसार प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने भएको छ । यसका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट आवश्यक जग्गा प्रदान गर्ने सहमति भइसकेको छ

सदस्य सचिव बस्नेतका अनुसार अबको प्राथमिकता कानुन संशोधन, खेलकुद कार्यक्रमको निरन्तरता र तालिम तथा प्रतियोगिता स्थायीत्व तर्फ केन्द्रित हुनेछ ।
सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले चालु वर्षको ‘कोशी प्रदेश खेलकुद महोत्सव’बाट सुरु भएको प्रतियोगितात्मक यात्रा वार्षिक रुपमा निरन्तर चलाइने बताए । उनले खेलकुद कार्यक्रमले प्रदेशको छवि बदल्ने क्षमता राख्ने दाबी गरे । राईले भने,‘ हामी खेलकुदलाई सामाजिक रुपान्तरण र समृद्धिको माध्यम मान्छौँ ।’

लगातरका विभिन्न खेलकुद गतिविधिका कारण् कोशी प्रदेशलाई आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने योग्य बनाईने सदस्यसचिव बस्नेतले बताए । सदस्य सचिव बस्नेतका अनुसार, खेलकर्मी छनोट, पूर्वतयारी, तालिम र व्यवस्थापन पक्षमा सम्पूर्ण शक्ति लगाइएको छ । उनले भने, ‘ यो वर्ष हामी राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने प्रदेश बन्न चाहन्छौं ।’
कोशी प्रदेश सरकारले अपाङ्गता भएकाहरुले खेल्ने पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता र बास्केटबललाई पनि प्राथमिकता दिएको मन्त्री राईले बताए ।

प्रदेश सरकारले पुरानो खेलाडीको अभिलेखीकरण गर्ने र उनीहरूलाई सम्मान गर्ने नीति सराहनीय रहेको बताउँदै सागमा स्वर्ण विजेता रहेका राम लिम्बूले भने, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएका र पदक विजेतालाई खेलाडी, प्रशिक्षकलाई सम्मान गर्ने कामले पछिल्लो पुस्ताका खेलाडीलाई उर्जा थप्ने काम भएको छ । यसले पनि उनीहरूमा खेल्नुपर्छ भन्ने भावना जागृति हुन थालेको पाएको छु ।’

कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा पदक हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न थालेको छ । यसले पनि उनीहरूमा उत्साह जागेको बताएका छन् । प्रदेशबाट प्रतिनिधित्व गर्दै मुलुकको नाम उच्च पार्न खेलाडी र प्रशिक्षकको भूमिका अहम् रहने बताइएको छ ।

तीन तहको सरकारको समन्वयमा खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउँदै सदस्यसचिव बस्नेतले भने, ‘सीमित कर्मचारी र प्रशिक्षकबाट काम गर्न समस्या भइरहेको छ । प्रशिक्षक र खेल संरचना पर्याप्त नहुँदा सोचअनुरुपको सफलता पाउन सकिएको छैन । त्यही भएर पछिल्लो समय प्रदेश सरकारले पहाडी जिल्लामा केही खेलका संरचना तयार गरिसकेको छ भने अन्य ठाउँमा निर्माणाधीन अवस्था छ ।’

पछिल्लो समय खेलकुदको विकासका लागि विभिन्न योजना बनाएकाले खेल क्षेत्र धेरै खुसी भएको छ । खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने परिपाटी बसाएकोमा सम्पूर्ण खेलका खेलाडीमा थप उत्साह थपिएको बताउँदै खेल प्रशिक्षकहरुले बताएका छन् ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोशी प्रदेश खेलकुद ग्राम निर्माणका लागि वजेटको व्यवस्था गरेको छ । सामाजिक विकास मन्त्री राईले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पर्याप्त बजेटको प्रवन्ध गरिएको बताए । उनले भने,‘ दसौं राष्ट्रिय खेलकुद, राष्ट्रपति रनिङ शिल्ड, कोशी प्रदेश खेलकुल महोत्सवका लागि पर्याप्त बजेट आगामी विनियोजन भएको छ ।’