विराटनगर, ३ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसैले चाहँदैमा र सपना देख्दैमा एमाले नएक्लिने बताउनु भएको छ ।
प्रेस चौतारी प्रदेश १ ले आज बिहान विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले कसैले चाहँदैमा एमालेलाई एक्ल्याउन नसक्ने जिकिर गर्नु भयो । स्पष्ट विचार बोकेर जनतामा आधारित हुँदै संगठनको बलमा अगाडि बढेको पार्टी भएकाले कसैले सपना देखेका भरमा एमालेलाई एक्ल्याउन सम्भव नहुने उहाँको भनाइ छ । आगामी निर्वाचनमा अरु दलले गठबन्धन गरेर आए पनि एमाले सामना गर्न तयार रहेको पोखरेलले बताउनु भयो । ‘निर्वाचन प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरिने एउटा अभ्यास हो । सक्छौ भने एक्लाएक्लै आउ, सक्दैनौ भने गठबन्धन गरेर आउ भनेको हो,’ गठबन्धन दलप्रति लक्षित गर्दै उहाँले भन्नु भयो, ‘जे भए पनि एमाले सामना गर्न तयार छ ।
स्थानीय निर्वाचनमा पनि हामीले यही कुरा भनेको हो ।’ राजनीतिमा सम्भावनाहरु जीवितै रहे पनि अहिले मुलुकमा बाम तालमेलको सम्भावना नरहेको उहाँले बताउनु भयो । पोखरेलले गठबन्धन सरकार नालायक र गैरजिम्मेवार बनेको आरोप पनि लगाउनु भयो । ‘राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, अखण्डता, सामाजिक सद्भावका सवालमा सरकार चुकेको छ,’ उहाँले भन्नु भयो, ‘आर्थिक विकास र समृद्धिसहित मुलुकलाई सदृढ बनाउने विषयमा केही गरेन ।’ प्रचण्डको भारत भ्रमणको उदेश्य तथा एजेन्डा के थियो र भम्रणका क्रममा उनले कति कुरा गरे एवं गरेका कुरा कति लुकाए भन्नेतर्फ आफू जान नचाहने पोखरेलको भनाइ छ । प्रदेश खारेजीको कुरा एमालेले नउठाएको उहाँले स्पष्ट पार्नु भयो ।
सहमतिका साथ बनाइएको संविधानमा स्पष्ट उल्लेख गरेर ल्याइएको व्यवस्थामा आफ्ना राजनीतिक कोणबाट कसले के भन्ला भन्ने कुराले अर्थ नराख्ने उहाँको तर्क छ । पोखरेलले प्रदेश १ को नामकरणको विषयमा केन्द्रको धारणा आवश्यक नभएको पनि बताउनु भयो । ‘प्रदेश आफै अधिकार सम्पन्न छ । तर साझा र सबैलाई मान्य हुने नाम आउनुपर्छ,’ उहाँले भन्नु भयो, ‘नामको विषयमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ । केन्द्रले हस्तक्षेप गर्यो भन्नु लुते कुरा मात्रै हो ।’
पोखरेलले अर्थमन्त्री जनार्दन शर्माका विषयमा छानबिन भइरहेकाले संसदीय समितिले प्रतिवेदन बुझाएपछि त्यसका बारेमा थप छलफल अघि बढाइने पनि बताउनु भयो ।