
विराटनगर ८ असार । मोरङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखमाथि हातपात गर्नेलाई कारबाहीको माग गर्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । आन्दोलनको पहिलो दिन आइतबार कालो पट्टी बाँधेर २ घण्टा कार्यालयको कामकाज ठप्प पार्दै धर्ना दिइएको छ ।
सोमबार ४ घण्टा, १० गते ६ घण्टा कार्यालयको कामकाज ठप्प पार्ने घोषणा गरिएको छ । असार ११ गतेबाट कार्यालयमा चाबी लगाइ अनिश्चितकालीन कार्यालय बन्द गर्ने घोषणा गरिएको छ । कार्यालय प्रमुख राजन पोखरेलमाथि जेठ २२ बिहीबार दिउँसो हातपात भएको थियो ।
कराँते खेलसँग आवद्ध एक समूहले काम गरिरहेका बेला कार्यकक्षमा प्रवेश गरेर पोखरेललाई अपशब्द प्रयोग गरी गालीगलौज र हातपात गरेको हो । कार्यालय प्रमुख पोखरेलले कराँते खेलका राम लिम्बूको नेतृत्वमा आएका चन्द्र पराजुलीलगायतले आफूलाई आफ्नै कार्यकक्षमा हातपात गर्दै अपशब्द प्रयोग गरेको बताउनुभयो । जिल्ला खेलकुद विकास समिति मोरङले लिम्बूसहित ३ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कानुन बमोजिमको कारबाहीका लागि निवेदन दर्ता गराइसकेको छ ।
कार्यालय समयमै कार्यकक्षमा पुगेर कार्यालय प्रमुखमाथि हातपात र गालीगलौज गर्नेलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर लिखित निवेदन दिएको धेरै दिन भइसक्दा पनि उनीहरु पक्राउ परेका छैनन् । हातपातमा संलग्नलाई कारबाहीको दायरमा नल्याइएपछि चरणवद्ध रुपमा आन्दोलनको घोषणा गरिएको मोरङ जिल्ला खेलकुद विकास कर्मचारी संघका अध्यक्ष प्रकाश मल्लले जानकारी दिनुभयो ।
उनीहरुका अनुसार जेठ २२ गते कराँते खेलमा आवद्ध रामबहादुर लिम्बूलगायतका व्यक्तिहरु कार्यालयमा प्रवेश गरी कार्यालय प्रमुखलाई हातपात, गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएर हिँडेका थिए ।