विराटनगर महानगरको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मतिले पारित भएको छ ।
शनिबार बसेको १० औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक वर्षको बजेटसँगै नीति तथा कार्यक्रम पारित गरेको हो ।

महानगरले असार १० गते आगामी आर्थिक वर्षका लागि ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । आयस्रोत कमजोर हुँदा विराटनगर महानगरपालिकाले आर्थिक वर्ष ०७९÷८० को बजेट आर्थिक वर्ष ०७८÷७९ कोभन्दा १५ प्रतिशतले कम बजेट सार्वजनिक गरेको थियो ।

शनिबार बसेको बैठकमा मेयर नागेश कोइरालाको अनुमतिले उपमेयर शिल्पा निराला कार्कीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको आर्थिक विधेयक, विनियोजन विधेयक र महानगर खेलकुद विकास विधेयक पनि सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी बैठकले केही महत्वपूर्ण नीतिगत निर्णयहरूसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

सोही बैठकले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक समिति र महानगर सदस्य बलराम कारञ्जितको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । न्यायिक समितिको सदस्यमा वडा नम्बर ११ का अध्यक्ष तीथेन्द्र न्यौपाने र वडा नम्बर ९ की सदस्य रुपा देउजा चयन हुँदा लेखा समितिको सदस्यमा २ नम्बर वडाकी सदस्य मेनुका परियार र ९ नम्बर वडाका सदस्य रियाज अहमदलाई बैठकले सर्वसहमतिले चयन गरेको बस्नेतले जानकारी दिए । बैठकलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगरको आफ्नो स्रोतले मात्रै समग्र विराटनगरको विकास नहुने धारणा राखे । “सबै वडालाई धेरैभन्दा धेरै बजेट छुट्याएर समग्र विराटनगरको विकास गरौं भन्ने इच्छा र चाहना त कति धेरै छ,” उनले भने, “तर हाम्रो क्षमता छैन । हाम्रो आर्थिक अवस्था कमजोर छ । जबसम्म हामीले राजस्व संकलनलाई १ अर्ब नघाउँदैनौं तबसम्म सोचेंजस्तो विकास गर्न सक्दैनौं ।”

मेयर कोइरालाले भौतिक संरचना निर्माणसँगै खानेपानी, सरसफाई, डुबान समस्या समाधानका लागि बजेटका विषयमा दातृ निकायहरूसित छलफल भइरहेको बताए । उपमेयर कार्कीले पनि महानगरको आर्थिक अवस्था बलियो बनाउनुपर्नेमा जोड दिइन् । कार्कीले भनिन्, “करको दायरामा नआउने धेरै छन्, उनीहरु सबैलाई करको दायरामा ल्याउनुपर्छ । हाम्रो आन्तरिक स्रोतलाई बलियो बनाउनुपर्छ । अनि मात्रै हामीले चाहेजस्तो विकास गर्न सक्छौं ।”

बैठकमा वडा नम्बर ४ का वडाध्यक्ष जितन थापा, वडा नम्बर ५ की वडा सदस्य अन्जु दाहाल, वडा नम्बर ११ का सदस्य बलराम कारञ्जित, वडा नम्बर ७ का वडाध्यक्ष जितेन्द्र अग्रवाल, वडा नम्बर १ की सदस्य लक्ष्मीदेवी राईलगायतले सडक बत्ती, सरसफाई, डुबान समस्या, जनप्रतिनिधिका सेवासुविधालगायतका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।