विराटनगर, २६ असार । प्रदेश १ को नाम सप्तकोशी राख्न नेपाली कांग्रेसले प्रस्ताव गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक सुयर्माराज राईले कांग्रेसले मजबुत तरिकाले प्रदेश १ को नाम सप्तकोशी राख्न प्रस्ताव गरेको जानकारी दिनुभयो । उनले कांग्रेस नामाकरणको बिषयमा मौन रहेको भन्ने आरोप सही नभएको बताउनुभयो ।
उहाँले प्रदेशको नाम कोशी राख्नुपर्छ भन्ने तर्क, सगरमाथा राख्नुपर्छ भन्ने तर्क, या अरु कुनै नाम राख्नुपर्ने तर्कबारे छलफल गर्दा उपयुक्त विकल्पको नाम सप्तकोशी हुने बताउनुभयो । उहाँले एमालेले प्रस्ताव गरेको नाम कोशी राख्नका लागि पर्याप्त आधार नभएको बताउनुभयो । उहाँले कांग्रेसले राखेको प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सवै दल छलफलका लागि तयार हुने दाबी गर्नुभयोे ।
राईले सत्ता साझेदार दलहरुमा नेकपा माओवादी, एकीकृत समाजवादी, जसपा पनि सकारात्मक रहेको बताउनुभयो । त्यस्तै लिम्बुवानको पहिचानको माग गर्दै आएको लिम्बुवान सम्वद्ध दल पनि सप्तकोशी नामको बिषयमा सकारात्मक अवस्थामा रहेको दाबी गर्नुभयो ।