१५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु

विराटनगर २४ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको छ । आज विराटनगर स्थित शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागितामा १५ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेश स्तरीय छनोट प्रतियोगिता सुरु भएको हो ।

छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै १ हजार खेलाडीको सहभागिता रहेको छ । छनोट प्रतियोगितामा विजयी खेलाडीहरूले जेठ २८ देखि ३० सम्म काठमाडौँमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले पूर्वाधारको विकासले मात्रै राष्ट्रको विकास नहुने भन्दै शिक्षा, खेलकुद लगायतको क्षेत्रमा समेत पर्याप्त लगानी भए चौतर्फी विकास हासिल गर्न सकिने बताउनु भएको थियो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष पाँचकर्ण राईले प्रदेश सरकारको आगामी बजेट खेलक्षेत्र र खेलाडीलाई प्राथिमिकतामा राखेर निर्माण गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्दै राष्ट्रपति रनिङ शिल्डमा विजयी हुने खेलाडीको बोर्डले उचित सम्मान गर्ने बताउनु भएको थियो ।

बस्नेतले प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी नभएको सोलुखुम्बु, सुनसरी र खोटाङलाई प्रतियोगितामा खेलाडीको सहभागी हुने अधिकार सुनश्चित गर्न असफल भएको भन्दै सो जिल्लाका जिल्ला खेलकुद विकास समितिलाई आवश्यक कारबाही हुने समेत बताउनु भयो ।