प्रदेश १ सरकारले १९ जना श्रष्टालाई सम्मान गर्ने

विराटनगर, २६ असार । प्रदेश १ सरकारले १९ जना श्रष्टाहरुलाई सम्मान गर्ने भएको छ । भानु जयन्तीका अवसर पारि मंगलबार पर्यटन तथा संस्कृति मन्त्रालयले श्रष्टा सम्मान गर्न लागेको हो ।

सम्मानित हुने श्रष्टाहरु छनौट भईसकेको मन्त्रालयको संस्कृति तथा पुरातत्व शाखाका अधिकृत भेषराज नेउपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान सुनसरीका प्रा.डा. गोविन्द तुम्वाङलाई प्रदान गरिने भएको छ । सोही सम्मान झापाका प्रा.डा कालुराम खम्वुलाई पनि प्रदान गरिने भएको छ । तुम्वाङलाई भाषा, साहित्य र अनुसन्धान विधा तर्फ र खम्वुलाई अनुसन्धान संस्करण तर्फ सम्मानित गरिने निर्णय भएको अधिकृत नेउपानेले बताउनुभयो । पुरस्कारको राशी १-१ लाख रहेको छ ।

५०–५० हजार राशीको प्रदेश स्तरिय भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान टंकबहादुर खुलाल (मनु मञ्जिल) सुनसरी, गोवद्र्धन तामाङ उदयपुर, विजय श्रेष्ठ इलाम, भरत गुरागाई मोरङ, ममता गिरी सुनसरी, गोपाल देवान सुनसरी, वीरबहादुर लाप्चा इलाम, हरि कट्टेल सोलुखुम्वु, मानसिंह थुलुङ इलाम, महेन्द्र राई सुनसरी, जयन्तीरमण कण्ठ सुनसरी, नवराज राई भोजपुरलाई प्रदान गरिने भएको छ ।

यसैगरि २५–२५ हजार राशीको नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान लिला उप्रेती झापा, यशोदाकुमारी लम्साल सुनसरी, चेतन आङथुपो इलाम, मधुराज केरुङ पाँचथर र विमला चिमरिया झापालाई प्रदान गरिने भएको मन्त्रालयको संस्कृति तथा पुरातत्व शाखाका अधिकृत नेउपानेले जानकारी दिनुभयो ।