रासायनिक मलको अभाव र मूल्यवृद्धिको विरोधमा कृषकहरुद्धारा विरोध प्रदर्शन

विराटनगर, २५ असार । रासायनिक मलको अभाव र मूल्यबृद्धिको विरोधमा मोरङमा कृषकहरुले सरकारका विरुद्ध विरोध कार्यक्रम गरेका छन् ।

अखिल नेपाल किसान महासंघको देशब्यापी बिरोध प्रदर्शनको कार्यक्रम अन्तर्गत मोरङमा पनि विरोध प्रदर्शन र पत्रकार सम्मेलन गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका जिल्ला अध्यक्ष देवेन्द्र पौडेलले वर्तमान सरकार कृषक र आम जनताको पक्षमा नरहेको पुष्टि भएको आरोप लगाउनुभयो । उहाँले कृषिप्रधान देश भन्ने तर मुख्य बालि धान रोप्ने बेलामा कृषकहरु मल र इन्धनबृद्धिको विरोधमा सडकमा उत्रनुपर्ने अवस्था सृजना गरेको भन्दै सरकारको चर्काे आलोचना गर्नुभयो । कार्यक्रममा नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले वर्तमान सरकार जनताप्रति उत्तरदायी हुनै नसक्ने बताउनुभयो । उहाँले वर्तमान सरकारले निर्वाह गरिरहेका भूमीका हेर्दा जुनसुकै बेला नेपाल नेपालीको हुदैन कि भन्ने भय देखिएको बताउनुभयोे । यसैबिच कार्यक्रममा सहभागि कृषकहरुले मल अभाव र चर्काे मूल्य बृद्धिले लागत बढ्न गएको तर उत्पादनमा ह्रास आउने हुँदा कृषकरु मारमा परेको बताएका छन् ।

मोरङको कटहरी–३ कि सन्जादेवी सहनीले आफूले प्रति विघा ३५ मनमा ठेक्का लिएर दुई विघामा खेती गरेको भन्दै उहाँले मल अभावका कारण त्यहि ३५ मन पनि नफल्ने हो कि भन्ने चिन्ता रहेको बताउनुभयो । समयमा पानी र मल पाउँदा ६० देखि ७० मन फल्ने धान यस वर्ष मल अभावका कारण ३५ मन पनि नफल्ने चिन्ता थपिएको भन्दै उहाँले खर्च भने उसैगरि बढ्दा चिन्ता थपिएको बताउनुभयो ।

यस्तै अर्का कृषक रंगेली नगरपालिका १ का भोगेन्द्र बस्नेतले एकातिर मलको अभावले कृषकलाई पिरोलिरहेको छ अर्काे तिर बढेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिले खेति गर्न नै मुस्किल भएको बताउनुभयो । यसअघि प्रति विघामा खेलि गर्दा १० हजारमा जोतिने खेती जोत्न अहिले १६ हजार भन्दा बढी लाग्ने गरेको बस्नेतले बताउनुभयो ।