
विराटनगर, जेठ ११ । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । सफारी, अटो तथा मिनी बस चालकहरूलाई माईती नेपालले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणबारे सचेत बनाएको थियो ।
यातायातकर्मीहरू मानव ओसारपसारमा अनजानेमा सहायक बन्न सक्ने सम्भावना भएकाले उनीहरूलाई जानकारीमूलक तालिम तथा अन्तरक्रियामा समावेश गरिनु अत्यन्त आवश्यक रहेको माइती नेपालले जनाएको छ ।
दैनिक यात्रुहरूको आवागमनसँग नजिक रहने यी व्यावसायिक समूहलाई सतर्क बनाएर मानव बेचबिखनको श्रृंखलामा रोक लगाउन सकिने र महिला चालकहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै लैङ्गिक दृष्टिकोणबाट पनि सचेतना अभिवृद्धि भएको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।
सवारी चालकहरूलाई मानव बेचबिखनको संकेत चिन्ने प्रशिक्षण प्रदान गरिने र संख्यात्मक तथा गुणात्मक सहभागिता अभिवृद्धि गरिने योजना रहेको पोखरेलले बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसारका जोखिमहरूबारे यातायातकर्मीहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको माइती नेपाल विराटनगरका मनोपरामर्शकर्ता गीताञ्जली शर्माले बताउनुभयो ।
कार्यक्रमले विशेषगरी सीमा क्षेत्र तथा अन्तरसामुदायिक आवागमनमा संलग्न सवारी चालकहरूलाई संवेदनशील बनाउने र उनीहरूलाई मानव बेचबिखनको पहिचानमा सहयोगी बनाउने अपेक्षा रहेको उहाँले बताउनुभयो । कार्यक्रममा विराटनगर क्षेत्रका महिला र पुरुष दुबै यातायातकर्मी गरि २० जनाको सहभागिता रहेको थियो ।