विराटनगर, १९ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि लागि ल्याएको विधियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।
प्रदेशसभा बैठकले बहुमतबाट विधेयक पारित गरेको हो । प्रदेश १ सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतिको प्रस्ताव सदनमा पेश गरेका थिए। सांसद न्यौपानेले राखेको प्रस्ताव अस्वीकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राखेको विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले नै पारित भएको हो ।
यसअघि प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले वित्तीय अनुशासन कायम गर्दै यथार्थपरक बजेट बनाएको स्पष्ट पार्नुभएको थियो । उहाँले आगामी वर्षको बजेट खर्च कुनै समस्या नहुने प्रष्ट पार्नुभएको थियो । मुख्यमन्त्री राईले बजेट अधिवेशनका क्रममा प्रदेश सभा सदस्यहरूले बैठकमा उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रदेशको नामकरण सरकारको उच्च प्राथमिकतामा रहेको पनि बताउनुभएको थियो ।