एचपीभी खोप प्रभावकारी सञ्चालनका लागि अभिभावक सचेतनामा जोड

विराटनगर ९ वैशाख । ह्युमन प्यापिलोमा भाईरस (एचपीभी) खोपका लागि अभिभावकमा सचेतना आवस्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

देशव्यापी रुपमा हालै सम्पन्न एचपीभी खोप कार्यक्रमको प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रममा अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी हुन नसक्ने बताईएको छ । एचपीभी खोप कार्यक्रम विद्यालय स्तरमा सञ्चालन गरिने भएको हुँदा अभिभावकले खोपमा सहभागिताका लागि अनुमति नदिँदा समस्या भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले बताउनुभयो ।

नेपालमा राष्ट्रिय खोप ऐन २०७२ अनुशार खोप कार्यक्रम व्यवस्थित गरिएको तर यसबारे स्थानीयस्तर सम्म सचेतना आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । एचपीभी खोप नेपालको नयाँ खोप कार्यक्रम भएको र अव नियमित हुने उहाँले बताउनुभयो । हरेक वर्षको फागुनमा यो खोप सञ्चालन गरिने खोप अधिकृत भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ १० वर्ष उमेर समूहका वा कक्षा ६ मा अध्ययनरत बालिकालाई खोप दिईने छ । यो खोप विद्यालय स्तरमा सञ्चालन हुने छ ।’

एचपीभी खोप अभियानका क्रममा मोरङ र सुनसरीमा बढी समस्या देखिएको उहाँले बताउनुभयो । कोशी प्रदेशका पहाडी र हिमाली जिल्लामा खोप कार्यक्रम सञ्चालनमा कुनै समस्या नभएको भण्डारीको भनाई छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर वस्नेतले एचपीभी खोप कार्यक्रम सफल रुपमा सम्पन्न भएपनि प्रभावकारी सञ्चालनका लागि स्थानीय स्तरमा सचेतना दिन आवस्यक देखिएको बताउनुभयो । नियमित खोप कार्यक्रमको सुधृढीकरण आवस्यक रहेको बताउनुभयो ।

निर्देशक वस्नेतले वैशाख महिनालाई खोप महिनाका रुपमा मनाईने घोषणा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ खोज र खोप लगाउ । अभियानको मुख्य नारा छ ।’ कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियाले खोपमा समन्वय आवस्यक रहेको बताउनुभयो ।

खोपको सुश्म योजना आवस्यक रहेको सचिव थपलियाको भनाई छ । गत फागुन २२ देखि कोशी प्रदेशमा शुरु भएको एचपीभी खोप अभियानमा खोपको कभरेज ८७ प्रतिशत थियो । विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले संक्रमणकालिन पोलियो योजना २०७९–०८६ कार्यान्वयनमा रहेको कार्यक्रममा बताउनुभएको थियो ।