जनसभाका लागि मोरङ कानेपोखरीका ४ विद्यालय बन्द गर्न माओवादीको दवाव, सडक छेकेर मञ्च निर्माण

विराटनगर १२ फागुन । नेकपा माओवादी केन्द्र कानेपोखरीले जनसभाका लागि विद्यालय बन्द गर्न दवाव दिएको छ ।

कानेपोखरी ६ रमाइलोमा तराई–मधेश जागरण अभियान अन्र्तगतको जनसभा कार्यक्रमका लागि मोरङ कानेपोखरीका ४ वटा विद्यालयलाई पत्र पठाएर विद्यालय बन्द गर्न दवाव दिएको हो । बालजगत इंग्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ड हर्माेन एकेडेमी र जेनिथ इंग्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर फागुन १३ गते मंगलबार एक दिन विद्यालय बन्द गर्न भनेको हो ।

गाउँ कमिटी अध्यक्ष दुर्गाबहादुर कार्कीले फागुन ८ गतेको मितिमा विद्यालयहरुलाई पत्र पठाउँदै गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्री देव गुरुङ लगायतका नेताहरुको उपस्थितिमा बृहत जनसभा कार्यक्रम आयोजना गरिएकाले सो दिन विद्यालय बन्द गरिदिन पत्र पठाएको विद्यालयहरुले जनाएका छन् । विद्यालयहरुलाई पठाएको पत्रमा भनिएको छ,‘ कानेपोखरी ६ रमाइलोमा बृहत जनसभा ९ देखि १ वजे सम्म हुने भएकाले सवारी साधनको चाप अत्यधिक हुने र उच्च ध्वनी भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनी प्रदुषण हुने भन्दै विद्यालय विदा गरि कार्यक्रममा आवस्यक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ ।’

तराई–मधेश जागरण अभियान अन्र्तगत मोरङ कानेपोखरी ६ रमाइलो बजारमा कार्यक्रम राखिएको नेकपा माओवादी केन्द्र कानेपोखरीका अध्यक्ष दुर्गाबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कानेपोखरी चोकमा विहान साढे ९ वजेदेखि मञ्चको कार्यक्रम तय भएकाले कार्यक्रम स्थल नजिकका २ वटा विद्यालयलाई प्रत्यक्ष असर गर्ने देखिएकाले विद्यालयको पठन पाठन एक दिन वन्द गर्न आग्रह गरिएको बताए । उनले भने,‘ माओवादीले ४ वटा विद्यालय वन्द गर्न दवाव दिएको भन्दै हल्ला मच्चाएको पाएँ । त्यस्तो हैन बालबालिकालाई असर गर्ला भनेर मात्र कार्यक्रम स्थल नजिकका २ वटा विद्यालयलाई भनेका हौं । दवाव दिएका छैनौं, आग्रह गरेका हौं ।’

अध्यक्ष कार्कीले चोकनै ढाकेर पनि कार्यक्रम आयोजना नहुने बताए । यातायात आवत–जावतमा अवरुद्ध नहुने गरि कार्यक्रम गरिने बताए । कार्यक्रममा करिव ५ हजार देखि ७ हजारको उपस्थिति हुने उनले बताए ।

बालजगत इंग्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल दानबहादुर बस्नेतले विद्यालय वन्द गर्न दवाव मुलक पत्र आएको बताए । उनले विद्यालय वन्द गर्न दवाव मुलक पत्र आएपनि विद्यालयको पठन पाठन नरोकिने बताए । उनले भने,‘ स्कुल बन्द गर्न आह्वान गर्दै पत्र दिए पनि हाम्रो स्कुल वन्द गर्दैनौं । अरु स्कुलले के गर्छन थाहा भएन, मेरो खुल्छ ।’

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यन्वयन निर्देशिका २०६८ अनुसार विद्यालय हाताभित्र र यसको वरिपरि विद्यालय सञ्चालनमा वाधा पुग्नेगरी राजनीतिक सभा, सम्मेलन, नारा, जुलुस वा विरोधका गतिविधि सञ्चालन गर्न बन्देज गर्ने व्यवस्था गरिएको छ । सो व्यवस्था विपरित माओवादी केन्द्रले विद्यालय वन्द गर्न दवाव दिन नपाउने अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले बताए । उनले २०६८ जेठ १० गते विद्यालय शान्ति क्षेत्र घोषणा गरिएको भन्दै पठन पाठन प्रभावित हुनेगरिका गतिविधि गर्न नपाईने बताए । विद्यालय आसपास पठन पाठन प्रभावित हुने गरिका गतिविधि कसैले पनि गर्न नपाउने पन्थीले बताए ।

ध्वनीको गुणस्तर सम्वन्धि राष्ट्रिय मापदण्ड २०६९ अनुसार ग्रामिण क्षेत्रमा दिउँसोको समयमा ४५ डेसिवल हुनुपर्ने व्यवस्था छ । तर माओवादी केन्द्रले विद्यालयमा पठाएको पत्रमा उच्च ध्वनी प्रयोग गरिने जनाएको छ ।