विराटनगर, २१ जेठ । विराटनगर महानगरपालिकाको शनिबार सम्पन्न कार्यपालिका निर्वाचनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ ।
९७ मतदाता सदस्य मध्ये ५० मत रहेको काँग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्र उम्मेद्वारहरु निर्वाचित भएका छन् ।
कार्यपालिकामा अल्पसंख्यक तर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजयी भएका छन् । अल्पसंख्यकमा काँग्रेस उम्मेदवार प्रेम राठी ४०, जसपाका ववितादेवी साह ४५ र जसपाकै विमलादेवी पोद्धार ४१ मत प्राप्त गरेका छन् ।
महिलातर्फ सबै एमाले उम्मेद्वार विजयी भएका छन् । एमालेका सन्तलीदेवी विश्वास ५५, कमला श्रेष्ठ ५५, ताराकुमारी राय ५३, सरिता घिमिरे नेपाल ५३ र खुश्बु विश्वकर्मा ५२ मत ल्याएर विजयी भएका छन् । काँग्रेसका पराजित उम्मेद्वारहरु अन्जु दाहाल गौतमले ४०, गायत्री थापाले ३९, रुपा देउजाले ४०, विनितासिंह ठकुरीले ४० र जसपाकी चुलियादेवि साहले ४० मत पाएका छन् ।
महानगरमा एमालेले उपप्रमुख सहित ४३ र काँग्रेसले प्रमुख सहित ४० जनप्रतिनिधि जितेको थियो । यस्तै जसपाले १०, स्वतन्त्र ३ र राप्रपाको १ जना निर्वाचित भएका थिए । विराटनगर महानगर कार्यपालिकामा एमालेको बहुमत पुगेको छ ।