४० लाख बराबरको अवैध सामानसहित भारतीय नागरिक पक्राउ

विराटनगर, १९ जेठ । विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक जना भारतीय नागरिकलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ ।

भारतीय ट्याक्टरमा राखेर विराटनगरबाट इटहरीतर्फ लैजाँदै गरेको तस्करीका सामानसहित ३४ वर्षीय श्याम चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । चौधरी भारतको अररिया जिल्लाको जोगवनी–१० टिकुलियाका बासिन्दा हुन् ।

भन्सार छलीको अवैध सामान लोड गरिएको बीआर ३३ जीबी २६२७ नम्बरको ट्याक्टरसहित उनलाई कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ बाट पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार नियन्त्रणमा लिइएको ट्याक्टरबाट मोटर पार्टस, छाला, नटबल्टु, कपडा लगायतका अवैध सामान बरामद गरिएको छ ।

ट्याक्टर नियन्त्रणमा लिएर खानतलासी गर्दा आवश्यक कागजपत्र नभएको पाइएको श्रेष्ठले बताउनु भयो । नियन्त्रणमा लिइएको ट्याक्टर र अवैध सामानसहित चौधरीलाई आवश्यक कारबाहीका लागि आज राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी उहाँले दिनु भयो ।