विराटनगर ,६ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले होमियोपैथिक चिकित्सक प्रणालीको विकास र सुदृढीकरण गर्ने बताउनु भएको छ ।
नेपाल होमियोपैथिक चिकित्सक संघ केन्द्रीय कार्यालय विराटनगरद्वारा आज विराटनगरमा आयोजित नेपाल –भारत होमियोपैथिक चिकित्सक एवं वैज्ञानिकहरुको दुई दिने सम्मेलनको उद्घाटन गर्दै उहाँले यो चिकित्सक पद्धति वैकल्पिक स्वास्थ्य उपचारका लागि सहज, सरल र कुनै नकारात्भक प्रभाव बिहिन भएकोले नागरिकहरुमा सर्वसुलभ पहुँच हुनुपर्ने सुझाव दिनु भयो ।
मुख्यमन्त्री कार्कीले यो चिकित्सक प्रणाली व्यवस्थित तथा सहज बनाउन सम्मेलनमा आउनु भारतीय वैज्ञानिक , विश्वविद्यालयका प्राध्यापक एवं चिकित्सकको सुझाव उपयोगी हुने विचार राख्नु भयो । उहाँले होमियोपैथिक चिकित्सा काउन्सिल रजिष्टार स्थापना गर्न सङ्घीय सरकारसँग आवश्यक छलफल शुरु गर्ने जानकारी दिनु भयो ।
प्रदेशमा होमियोपैथिक अस्पताल स्थापनामा गर्न आगामी दिनमा सम्भाव्यता अध्ययन गर्न आवश्यक नीति तथा कानुन निर्माण गर्ने बताउनु भयो ।
वरिष्ठ होमियो चिकित्सक डा जीवन प्रकाशले होमियोपैथिक काउन्सिल स्थापनाबाट चिकित्सा पद्धतिको विकास हुने विचार राख्नु भयो ।
केन्द्रका अध्यक्ष रविन्द्र रायले सम्मेलनको मुख्य उद्देश्य अस्पताल निर्माण गर्नु, काउन्सिल स्थापना , विभिन्न स्थापनामा होमियो स्वास्थ्य चौकी स्थापना, होमियोपैथिक औषधिका सम्बन्धमा अनुसन्धान गर्नु र जनतालाई सहज र सरल रुपमा सेवा दिनु रहेको छ।
कार्यक्रममा होमियोपैथिक चिकित्समा महत्वपूर्ण सेवा पु¥याउने चिकित्सकहरुलाई सम्मान गरिएको थियो।
सम्मेलनमा नेपाल र भारतका गरी तीन सय ५० चिकित्सक, वैज्ञानिकहरुको सहभागिता रहेको छ।