मोरङ ग्रामथानको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने एमालेको निर्णय

विराटनगर २४ कात्तिक । आगामी मंसिर १६ गते हुने उपनिर्वाचिनका लागि नेकपा (एमाले)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । पार्टीको ग्रामथान गाउँपालिका उपाध्यक्ष रहनु भएका विश्वासलाई उम्मेदवार बनाउने आज बसेकाे केन्द्रीय सचिवालय बैठकले निर्णय गरेकाे हो ।

सचिवालय बैठकले देशभरका ४४ पदमा हुने उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको नेताहरुले बताएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचित हुनु भएको थियो । उहाँको गत असार ३ गते निधन भएको थियो । गच्छदारको निधनपछि ग्रामथानमा उपनिर्वाचन हुने भएको हो ।

गत चुनावमा गच्छदारले ७ हजार ६ सय ५ मत पाएका थिए । उनका निकटम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ मत मात्रै ल्याए । २०७४ को स्थानीय तह निर्वाचनमा भने एमालेका शिवनारायण माझी थारु नै विजयी हुनु भएको थियो । २०७९ मा भने गच्छदारसँग उहाँ पराजित हुनुभयो । ग्रामथानको अध्यक्षमा एमालेबाट ११ जना आकांक्षी थिए ।

नेपाली कांग्रेसले गाउँपालिकाको अध्यक्षमा पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदार र नेकपा (माओवादी केन्द्र)ले पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेका छन् ।