शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर २४ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ ।

झापाको दमकमा आज नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेश स्तरीय सम्मेलनको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश शिक्षा नीति बनाएर, अहिले भइरहेका विद्यालयहरु, स्कुल कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने योजना रहेको बताउनुभयो ।

अंग्रेजी भाषाको ज्ञान अनिवार्य जस्तै भएको भन्दै सबै सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको बनाउन समेत स्थानीय तहहरुलाई उहाँले सुझाव दिनुभयो । विश्व नै सानो गाँउ जस्तै भएको अवस्थामा अवसरको खोजी गर्न र जीविकोपार्जन गर्न पनि अहिले अंग्रेजी भाषा आवश्यक रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ । उहाँले भन्नुभयोे ‘अंग्रेजी भाषा असाध्यै आवश्यक छ ।

स्थानीय तहले सबै विद्यालयलाई अंग्रेजी माध्यमबाट सुरु गर्न आवश्यक छ ।’ उहाँले पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुलाई बलियो बनाएर गुणस्तरीय शिक्षा दिने गरी नीति तथा कार्यक्रममा समेटिएको जानकारी दिनुभयो ।