पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन अधिकारीको माग

विराटनगर २४ कात्तिक । कोशीका प्रदेशसभा सदस्य एवं निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले आफूलाई पार्टीको जिम्मेवारीबाट समेत हटाउन माग गर्दै निवेदन दिनु भएको छ ।

नेकपा (एमाले)का प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई हस्तलिखित निवेदन बुझाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन माग गर्नुभएको हो । एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष बाबुराम कार्की र भूराज राईलगायतका अगाडि उहाँले शुक्रबार खतिवडालाई निवेदन बुझाउनु भएको हो ।

अधिकारी एमालेको प्रतिनिधि परिषद् सदस्य रहनु भएको छ । उहाँले जापान भ्रमणको सिलसिलामा उठेको सार्वजनिक टीकाटिप्पणी र आरोपप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो । जापान भ्रमण सम्बन्धी विवादमा मुछिएपछि पदबाट राजीनामा दिनुभएका उहाँले घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भनेर सहयोग पुर्याउने उद्देश्यले पार्टीको जिम्मेवारीमा रहन नचाहेको बताउनुभयो ।

उहाँ मोरङको निर्वाचन क्षेत्र नम्बर २ (२)बाट प्रदेश सांसद निर्वाचित हुनु भएको हो ।