यु– १९ राष्ट्रिय क्रिकेट : कर्णालीको पहिलो जित, सुदुरपश्चिमको अपराजित यात्रा कायमै

विराटनगर १९ कात्तिक । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली र सुदुरपश्चिम प्रदेश विजयी भएका छन् ।

बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ ।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ४५ ओभरमा सवै विकेट गुमाई १ सय ३३ रनको योगफल बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाउँदा मनिस थापाले २२ रन र यूनिस ठकुरीले २१ रनको योगदान दिए । मधेशका राजेश यादवले ४ विकेट लिँदा अफ्रुदिन रैनले ३ विकेट लिए ।

१ सय ३४ रनको लक्ष्य पाएको मधेशले २७ दशमलव २ बलमा सवै विकेट गुमाई ८६ रनमा सिमित हुन पुग्यो । मधेशका मयन यादवले १५, जितेश मण्डलले १३ रनको योगदान दिए । कर्णालीका प्लेयर अफ द म्याच विपिन शर्माले ४ विकेट लिँदा यूनिस ठकुरीले ३ विकेट लिए । कर्णालीले ५ खेलमा १ मा जित हात पार्दै २ अंककासाथ अन्तिम स्थानमा रहेको छ भने मधेशले ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आजै भएको अर्काे खेलमा सुदुरपश्चिमसँग कोशी प्रदेश १ सय २३ रनले पराजित भएको छ । टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ८३ रन बनायो । सुदुरपश्चिमका सुवराज खत्रीले ४४ रन बनाउँदा अभिशेख थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए ।

१ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२ दशमलव ३ बलमा सबै विकेट गुमाउँदै ६० रनमा खुम्चियो । कोशीका सौजन घिमिरेले २६ रन बनाउँदा आशिष मगरले १३ रन बाहेक अरु ब्याटर चल्न नसक्दा लिगको अन्तिम खेलमा लज्जास्पद पराजय हुन पुग्यो । सुदुरपश्चिमका प्लेयर अफ द म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए । नरेन भट्टले पनि ४ विकेट लिए । सुदुरपश्चिमले सवै ५ खेल खेल्दै ५ मा जित हात पार्दै १० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ भने कोशीले खेलेको ६ खेलमा १ खेलमा जित र ५ खेलमा पराजित हुँदै २ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेकोे छ ।

मंगलबारको खेल बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्विनी र मधेश प्रदेश तथा मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा वागमती र कर्णाली प्रदेशबीच अन्तिम लिग खेल हुनेछ ।